काठमाडौं । नेप्सेमा सूचीकृत दुई बीमा कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसीएन)लाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।
एनएलजी इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको हो । यस अनुसार कम्पनीले अब प्रतिकित्ता १०० रुपैयाँ दरले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गर्नेछ ।
त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेसनले चुक्ता पूँजीको ८८ प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद जारी गर्नेछ ।
दुवै कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउन हकप्रद जारी गर्न लागेका हुन् ।