३ दिनदेखि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध, सबै उद्योग बन्द

फिक्कल (इलाम) । गत शनिबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित बनेका छन् ।

बाढीले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । ती जिल्लाका सदरमुकामसहित सबै गाउँ–नगर अन्धकार बनेका हुन् ।

विद्युत् अवरुद्ध हुँदा यी जिल्लाबाट प्रसारण भइरहेका एफएम रेडियो, पत्रपत्रिका र अनलाइनलगायत सञ्चारमाध्यम बन्द भएका छन् । मोबाइल चार्ज गर्न समस्या हुँदा सेवाग्राही प्रभावित भएका छन् । विद्युत् अवरुद्ध सेवा हुँदा सानाठूला उद्योग समस्यामा परेका छन् ।

बाढीले काबेली करिडोर १३२ किलोभोल्ट (केभी) प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख विजुलीप्रसाद यादवले बताए । सो प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिकाको महमाईमा रहेको ५१ नम्बरको टावर ढलेपछि तार तानिएर ५०, ५२ र ५३ नम्बरलाई क्षति पुगेपछि विद्युत् अवरुद्ध भएको उनले बताए । तीन दिनअघि गएको पहिरोले महमाईमा काबेली करिडोरको टावर ढलेको थियो ।

बाढीले प्रसारण लाइनमा क्षति पुर्याएपछि ती तीन जिल्लामा सञ्चालनमा रहेको आयोजनाको झण्डै १८५ मेगावाट बिजुली उत्पादन बन्द भएको छ । टावरमा क्षति पुग्नुअघि यो लाइनबाट दैनिक १८५ मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो ।

काबेली करिडोर १३२ केभी प्रसारण लाइन निर्माण भएपछि पूर्वी पहाडमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्ने र यी क्षेत्रमा विद्युत् सेवा वितरण सोही करिडोरको माध्यमबाट हुँदै आएको थियो ।

यसैबीच, विद्युत प्राधिकरणले बत्ती बाल्ने प्रयास भइरहेको जनाएको छ । प्राधिकरण इलाम प्रमुख यादवले क्षतिग्रस्त टावर मर्मत भइरहेकाले सकेसम्म चाँडो विद्युत् सेवा सुरु गर्ने प्रयास भइरहेको बताए । ‘मर्मतको काम धमाधम भइरहेको छ, सम्भवत आजसम्म लाग्न सक्छ,’ उनले भने ।

हेटौंडा जोड्ने तीन सडक संचालनमा आए, मुख्य दुई सडक अझै बन्द Read Previous

हेटौंडा जोड्ने तीन सडक संचालनमा आए, मुख्य दुई सडक अझै बन्द

बाढीपहिरो पीडितलाई १० दिनभित्र पहिलो किस्ता, २५ हजार पाउने Read Next

बाढीपहिरो पीडितलाई १० दिनभित्र पहिलो किस्ता, २५ हजार पाउने