बाढीपहिरोले करिब १३०० मेगावाट बिजुली उत्पादन बन्द, करोडौंको क्षति

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी पहिरोको कारण करिब १३०० मेगावाट बिजुली उत्पादन बन्द भएको छ ।

देशभरका विभिन्न नदीमा आएको बाढी र पहिरोका कारण डेढ दर्जन बढी आयोजनाबाट बिजुली उत्पादन बन्द भएको हो । यद्यपि, केही आयोजनाले आजदेखि फेरि बिजुली उत्पादन थालेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार देशकै सबैभन्दा ठूलो ४५६ मेगावाट माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युन् उत्पादन बन्द भएको छ । पहिरोले आयोजनाको डेडवर्क्समा क्षति पुर्याएको छ भने ५ जना कर्मचारी बेपत्ता छन् ।

त्यसैगरी, लिखु, सोलु, कोशी, काबेली, तमोर करिडोरका जलविद्युत् आयोजनाहरुबाट विद्युत् उत्पादन बन्द भएको हो । त्यस्तै, मान्डु हाइड्रोपावर, मध्य सोलु, बेनी सोलु, सोलु दूधकोशी, माथिल्लो दूधकुण्ड, मध्य तमोर लगायतका जलविद्युत् आयोजनाको पनि विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ ।

प्रसारणलाइनमा क्षति पुग्दा लिखु १, लिखु २, लिखु ए, तल्लो लिखु, खिम्ती र माथिल्लो खिम्ती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन ठप्प भएको छ ।

यद्यपि, बाढीपहिरोले पावर हाउसमा क्षति पुगेका बाहेक केही जलविद्युत् आयोजनाबाट आजदेखि पुनः विद्युत् उत्पादन सुरु भएको प्राधिकरणले जनाएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार बाढीका कारण माथिल्लो तामाकोशी, मान्डु हाइड्रोपावर, हेवाखोल, तल्लो हेवा खोलामा क्षति पुगेको छ ।

यकीन विवरण नआए पनि बाढीका कारण जलविद्युत् आयोजनाहरुमा करोडौंको क्षति पुगेको इप्पानले जनाएको छ ।

धनजनको क्षति र राहत बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक आह्वान Read Previous

धनजनको क्षति र राहत बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक आह्वान

बाढी पहिरोमा परी १०० जनाको मृत्यु, ६७ बेपत्ता Read Next

बाढी पहिरोमा परी १०० जनाको मृत्यु, ६७ बेपत्ता