काठमाडौं । अर्थतन्त्रका अधिकांश सूचकहरूमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक २०८१/८२ को पहिलो महिना (साउन)को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले अर्थतन्त्रका सूचकहरूमा सुधार आइरहेको देखाएको हो ।
विगत १ वर्षदेखि अर्थतन्त्रको बाह्य क्षेत्रमा लगातार सुधार भइरहँदा पनि आन्तरिक क्षेत्रमा शिथिलता कायमै थियो । तर, पछिल्ला केही महिना यता आन्तरिक अर्थतन्त्रमा पनि क्रमशः सुधार आइरहेको तथ्यांकले देखाएको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार अर्थतन्त्रको बाह्य क्षेत्र निकै बलियो अवस्थामा पुगेको छ । बाह्य क्षेत्रका अधिकांश सूचक ३ वर्ष यताकै बलियो अवस्थामा पुगेका छन् । विदेशी मुद्रा, रेमिट्यान्स आप्रवाह हालसम्मकै धेरैको रेकर्ड बनाएको छ । त्यस्तै, शोधान्तरस्थिति, चालुखाता लगायत सूचकमा पनि निकै सुधार देखिएको छ ।
मूल्यवृद्धि पछिल्ला ५ महिनादेखि लगातार सीमाभन्दा तल रहेको छ । यस्तै, सरकारको राजस्व संकलन, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र कर्जा लगानी, राजस्व संकलन, पूँजीगत खर्च लगायतमा सुधार आएको देखिएको छ ।
यस्ता छन् अर्थतन्त्रका मुख्य सूचकहरू
१. विदेशी मुद्रा संचिति झण्डै २१ खर्ब : विदेशी मुद्रा संचितिले महिनैपिच्छे रेकर्ड बनाउँदै गएको छ । बढ्दो रेमिट्यान्स, बढ्दो पर्यटक आवगमन र घट्दो आयातका कारण विदेशी मुद्रा संचितिले इतिहासकै धेरैको रेकर्ड बनाएको छ ।
साउन मसान्तसम्म राष्ट्रिय ढुकुटीमा २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ विदेशी मुद्रा संचिति रहेको छ । यो हालसम्मकै धेरै हो । अमेरिकी डलरमा यस्तो सञ्चिति १५ अर्ब ५८ करोड पुगेको छ ।
२. १३ महिनाको आयात धान्ने विदेशी मुद्रा : दुई वर्ष अघि विदेशी मुद्रा संचिति घट्दै जाँदा मुलुक श्रीलंका जस्तै बन्छ भन्ने आतंक फैलिएको थियो । सो बेला वैदेशिक मुद्राले ६ महिनाको मात्रै आयत धान्ने अवस्था थियो । तर, अहिले विदेशी मुद्रा संचिति पर्याप्त भएको छ । साउनसम्म राष्ट्रिय ढुकुटीमा साढे १३ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने विदेशी मुद्रा संचिति भएको छ । जुन पछिल्लो ३ वर्ष यताकै बलियो अवस्था हो ।
चालु आवको साउनको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
३. एकमहिनामै १३७ अर्ब रेमट्यान्स भित्रियो : चालु आवको पहिलो महिनामा रेमिट्यान्स आप्रवाह १८ प्रतिशतले बढेको छ । साउनमा कुल १ खर्ब २६ अर्ब ९२ करोड रुपैयाँ रेमट्यिान्स भित्रिएको छ ।
४. चालु खाता र शोधनान्तर दुवै बचतमा : साउनमा चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । यस अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोडले बचतमा रहेको थियो ।
त्यस्तै, साउनमा चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोडले बचतमा रहेको थियो ।
५. सरकारको खातामा २ खर्ब नगद मौज्दात : साउनमा सरकारका विभिन्न खाता (प्रदेश र स्थानीय तहकोसहित)मा १ खर्ब ९७ अर्ब ८२ करोड रुपैयाँ बढी नगद मौज्दात रहेको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात ९९ अर्ब ३६ करोड रुपैयाँ मात्र थियो।
६. निक्षेप घट्यो, कर्जा लगानी बढ्यो : साउनमा बैंकिङ व्यवसायमा पनि सुधार आएको छ । यस अवधिमा निक्षेप संकलन घटे पनि कर्जा लगानी बढेको छ । साउनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ४३ अर्ब ४५ करोड (०.७ प्रतिशतले घटेको छ । निजी क्षेत्रमा प्रवाह हुने कर्जा लगानी भने ०.३ प्रतिशतले बढेको छ । यस महिना १४ अर्ब ११ करोड कर्जा प्रवाह भएको छ ।
७. राजस्व संकलन २० प्रतिशत बढ्यो : गत वर्षको तुलनामा यस वर्ष राजस्व संकलनमा उल्लेख्य सुधार देखिएको छ । अर्थतन्त्र क्रमशः चलायनमा बन्दै जाँदा राजस्व संकलन पनि बढेको हो । साउनमा सरकारले ९४.९७ अर्ब रुपैयाँ राजस्व उठाएको छ । यो पछिल्लो ३ वर्षको साउन महिनामा उठेको सबैभन्दा धेरै हो ।
यस्तै, साउनमा सरकारको खर्च पनि १४.८ प्रतिशतले बढेको छ । सरकारले यस महिना ४०.२१ अर्ब रुपैयँँ खर्च गरेको छ ।
८. आधारदर २ वर्ष यताकै सस्तो : पछिल्लो समय बैंकको ब्याजदर सस्तिँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । २०८१ साउनमा वाणिज्य बैंकहरूको औसत आधार दर ७.६१ प्रतिशत, विकास बैंकहरूको ९.२८ प्रतिशत र वित्त कम्पनीहरूको १०.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको साउनमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.११ प्रतिशत, विकास बैंकहरूको ११.८७ प्रतिशत र वित्त कम्पनीहरूको १३.२८ प्रतिशत रहेको थियो ।
त्यस्तै, २०८० साउनमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ५.९२ प्रतिशत रहेकोमा २०८१ साउनमा २.९४ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० साउनमा ५.८७ प्रतिशत रहेकोमा २०८१ साउनमामा २.९९ प्रतिशत रहेको छ ।
२०८१ साउनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५.६६ प्रतिशत, विकास बैंकहरूको ६.४६ प्रतिशत र वित्त कम्पनीहरूको ७.७१ प्रतिशत रहेको छ । त्यसैगरी, २०८१ साउनमा वाणिज्य बैंकहरूकोकर्जाको भारित औसत ब्याजदर ९.६८ प्रतिशत, विकास बैंकहरूको ११.०७ प्रतिशत र वित्त कम्पनीहरूको १२.३२ प्रतिशत रहेको छ । २०८० साउनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२.२४ प्रतिशत, विकास बैंकहरूको १३.८८ प्रतिशत र वित्त कम्पनीहरूको १४.६६ प्रतिशत रहेकोथियो ।
९. महँगी लगातार घट्दै : गत चैत यता महँगी क्रमशः घट्दै गएको देखिएको छ । साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशतमा झरेको छ । यो सरकारको सीमाभन्दा तल हो । सरकारले चालु आवमा मुद्रास्फीति ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेका छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ८.९० प्रतिशत र ६.६२ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १९.०७ प्रतिशत, दाल तथा गेडागुडीको १२.०९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ३.६६ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.७५ प्रतिशतले घटेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत, तराईको ४.४९ प्रतिशत, पहाडको ३.६७ प्रतिशत र हिमालको ४.५३ प्रतिशत रहेको छ । २०८० साउन महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ८.५० प्रतिशत, ६.७० प्रतिशत, ७.५० प्रतिशत र ११.४६ प्रतिशत रहेको थियो ।
१०. व्यापार घाट भने बढ्यो : साउनमा व्यापार घाटा भने थोरै बढेको छ । आर्थिक वर्ष २०८१÷८२ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ०.४ प्रतिशतले वृद्घि भई १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ०.७ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा निर्यातमा गिरावट आउँदा व्यापार घाटा बढेको हो । साउनमा कुल वस्तु निर्यात ९.६ प्रतिशतले घटी १२ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ । साउनमा १ खर्ब २८ अर्ब ३८ करोड रुपैयाँको वस्तु आयात भएको छ ।