नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले यस्तो प्रक्षेपण गरेको हो ।

पछिल्लो समय नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेकाले सन् २०२४ को तुलनामा सन् २०१५ मा आर्थिक वृद्धिदर १ प्रतिशत बिन्दुले प्रक्षेपण गरेको हो । सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने एडीबीकाे अनुमान छ ।

यसअघि अप्रिल २०२४ मा सार्वजनिक गरिएको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्र हुने अनुमान गरिएको थियो ।

यो बीचमा कृषि उत्पादन, पर्यटक आगमनमा सुधार र विद्युत उत्पादनमा भएको वृद्धिसहितका कारणले जीडीपीमा सकारात्मक वृद्धि हुने अनुमान गरिएको छ ।

लचक मौद्रिक नीति, पूँजीगत बजेटको खर्चलाई तीव्रता दिने योजनासँगै आन्तरिक मागमा थप सुधार हुनुका साथै थोक एवं खुद्रा व्यापार, यातायात र भण्डारण तथा घरजग्गा जस्ता व्यावसायिक गतिविधि सुदृढ हुने अपेक्षा एडीबीको छ ।

यसैकारण सन् २०२५ मा आर्थिक वृद्धिदर झनै बढ्ने एडीबीको भनाइ छ । यद्यपि, सरकारले भने चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

पछिल्लो तीन वर्ष नेपालको अर्थतन्त्रमा लगातार सुधार आइरहेको एडीबीले जनाएको छ । सन् २०२३ मा २ प्रतिशतले मात्र आर्थिक वृद्धि रहेकोमा सन् २०२४ मा ३.९ र सन् २०२५ मा ४.९ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

एडीबीले सन् २०२५ मा नेपालमा मूल्यवृद्धि दर पनि ५.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ। वर्ष २०२३.२४ मा नेपालको मूल्यवृद्धिदर ५।४ प्रतिशत रहेको एडीबीको ठम्याइ छ।

सन् २०२५ मा नेपालको चालु खाता भने ०.४ प्रतिशतले ऋणात्मक हुने एडीबीको प्रक्षेपण छ । सन् २०२४ मा चालु खाता ३.९ धनात्मक हुने एडीबीको अनुमान छ ।

यसअघि अन्तर्राष्ट्रिय मुद्रो कोष (आइएमएफ)ले पनि नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएको थियो ।

कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक खुला Read Previous

कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक खुला

लगानी विस्तारले रोजगारी वृद्धि र सुरक्षा प्रदान गर्छ : ढकाल Read Next

लगानी विस्तारले रोजगारी वृद्धि र सुरक्षा प्रदान गर्छ : ढकाल