कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकमा असोज १९ गतेसम्म गाडी चलाउन रोक

काठमाडौं । काठमाडौं-हेटौंडा जोड्ने छोटो दूरीको वैकल्पिक कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकमा १२ दिन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

दक्षिणकाली नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै मंगलबारदेखि उक्त सडकमा १२ दिन सवारी आवतजावतमा रोक लगाएको हो । उक्त सडकमा असोज ८ गतेदेखि १९ गतेसम्म सवारी चलाउन रोक लागाइएको हो ।

नगरपालिकाका अनुसार दक्षिणकाली-छैमले खण्ड कालोपत्र कार्य सुरु गर्न सवारी आवागमनमा रोक लगाइएको हो । कालोपत्र गर्ने काम अघि बढाउन सवारी चापका कारण कठिनाइ भएकाले गाडी संचालनमा रोक लगाइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले उक्त सडक बन्द भएकाले सवारी साधनलाई वैकल्पिक मार्गबाट डाइभर्सन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौं र मकवानपुरलाई समन्वयका लागि आग्रह गरेको छ ।

उक्त सडक राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौंडाअन्तर्गत ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ । वाग्मती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त सडक प्रादेशिक सडक गुरुयोजना अन्तर्गतको प्रदेश लोकमार्ग कायम गरिएको छ ।

चाडबाडको मुखमा पनि बढेन आयात, निर्यात झन्झन् घट्दै Read Previous

चाडबाडको मुखमा पनि बढेन आयात, निर्यात झन्झन् घट्दै

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह Read Next

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह