चाडबाडको मुखमा पनि बढेन आयात, निर्यात झन्झन् घट्दै

काठमाडौं । दशैं, तिहार, छठ जस्ता चाडवाड नजिकिए पनि आयात बढ्न नसकेको देखिएको छ । विगतमा चाडबाडको मुखमा आयात बढ्ने गरेकोमा यस वर्ष भने उत्साह नदेखिएको हो ।

सरकार र नेपाल राष्ट्र बैंकले अर्थतन्त्र क्रमशः चलायमान हुँदै गएको बताए पनि बजारमा उपभोग्य वस्तुको माग भने बढ्न नसकेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो महिना (भदौ)को वैदेशिक व्यापार तथ्यांकले आर्थिक शिथिलता कायमै रहेको देखाएको हो ।

विभागका अनुसार चालु आवको भदौमा कुल १ खर्ब ३४ अर्ब १६ करोड रुपैयाँ बराबरको विदेशी वस्तु आयात भएको छ । यो पछिल्ला महिनाहरूमा भइरहेको औसत आयातभन्दा केही मात्र बढी हो । गत वर्षदेखि मासिक औसतमा १ खर्ब ३३ अर्ब रुपैयाँको सामान आयात हुँदै आएको छ ।

यद्यपि, साउनको तुलनामा भदौमा आयात थोरै वृद्धि भएको छ । साउनमा १ खर्ब २८ अर्बको वस्तु आयात भएकोमा भदौमा सोभन्दा ६ अर्ब धेरैको आयात भएको छ । त्यस्तै, गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयात १.८ प्रतिशतले बढेको छ ।

अर्थतन्त्रमा आएको शिथिलताका कारण उपभोग्य वस्तु र औद्योगिक कच्चा पदार्थको खपत घट्दा समग्रमा आयात बढ्न नसकेको हो ।साथै, वर्षायाममा निर्माण गतिविधि सुस्त हुँदा आयात प्रभावित भएको हो ।

निर्यातमा उच्च गिरावट

चालु आवको भदौमा निर्यातमा पनि उच्च गिरावट आएको छ । गत भदौको तुलनामा चालु आवको भदौमा निर्यात ५.१२ प्रतिशतले घटेको छ ।

यस वर्षकोे भदौसम्म २५ अर्ब ९ करोड रुपैयाँको निर्यात भएको छ । यो गत वर्षको तुलनामा १ अर्ब २८ करोड रुपैयाँ कमको निर्यात भएको हो ।

व्यापार घाटा बढ्यो

भदौमा आयात बढे पनि निर्यात घट्दा व्यापार घाटा भने बढेको छ । आयात १.०८ प्रतिशतले बढ्दा निर्यात ५.१२ प्रतिशतले घट्दा व्यापार घाटा वृद्धि भएको हो ।

समीक्षा अवधिमा व्यापार घाटा १.७८ प्रतिशतले बढेको छ । चालु आवको दुई महिनामा नेपालले २ खर्ब ३७ अर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

भदौसम्म कुल २ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ०.५ प्रतिशतले धेरै हो ।

नेपालले अहिले १२३ राष्ट्रसँग व्यापार गरेकोमा २१ वटा देशसँग मात्रै नाफामा छ । नेपालले अफगानिस्तानसँगको अन्तर्राष्ट्रिय व्यापार सबैभन्दा बढी नाफा गरेको छ।

रकमगत आधारमा सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ। दुई महिनामा भारतबाट १ खर्ब ६० अर्ब रुपैयाँको वस्तु आयात भएको छ भने करिब १६ अर्ब रूपैयाँको निर्यात भएको छ।

ढल्केबर-सीतामढी अन्तरदेशीय प्रसारण लाइनको जग्गा विवाद टुंगियो Read Previous

ढल्केबर-सीतामढी अन्तरदेशीय प्रसारण लाइनको जग्गा विवाद टुंगियो

कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकमा असोज १९ गतेसम्म गाडी चलाउन रोक Read Next

कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकमा असोज १९ गतेसम्म गाडी चलाउन रोक