काठमाडौं । आन्तरिक राजस्व विभागले आय विवरण बुझाउने समय सीममा भेदभाव गरेको छ । विभागले १ करोडसम्म कारोबार गर्नेलाई विवरण पेस गर्ने समय थपेको छैन भने सोभन्दा बढी कारोबार गर्नेलाई म्याद थप गरेको हो ।
आयकर ऐन २०५८, दफा ९७ मा प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्र उक्त वर्षको आय विवरण विभागले तोकेको स्थानमा दाखिला गर्नुपर्छ भन्ने व्यवस्था गरेको छ । ऐनको दफा ९८ मा आय विवरण पेस गर्न विभागले एकै पटक वा पटक–पटक गरी बढीमा ३ महिनासम्म म्याद थप गर्न सक्ने व्यवस्था छ ।
तर, विभागले १ करोडसम्म कारोबार गर्ने एकलौटी फर्म र शून्य कारोबार भएका निकायहरूको आयकर विवरण पेस गर्ने समय नथप्ने निर्णय गरेको हो । विभागले असोज ४ गते यस्तो निर्णय गरेको हो ।
यद्यपि, म्याद थप्ने/नथप्ने निर्णय गर्ने अधिकार विभागलाई छ । यससँगै अब वार्षिक १ करोडभन्दा कम कारोबार गर्ने फर्महरूले यही असोज मसान्त भित्रै आयकर विवरण पेस गर्नुपर्नेछ ।
पुस मसान्तमा सबै करदाताले विवरण पेस गर्ने हुँदा कम्प्युटर प्रणालीमा भर पर्ने भएकाले १ करोडभन्दा कम वा शून्य भएका फर्महरूको आयकर विवरण पेस गर्ने समय थप नगिरएको विभागको भनाइ छ ।
विभागले १ करोड बढी कारोबार गर्नेको हकमा भने विवरण पेस गर्ने समय थपेको छ । वार्षिक २५ करोड रुपैयाँसम्म कारोबार भएका कम्पनी÷फर्म वा निकायका लागि आयकर विवरण पेस गर्ने समय २ महिना थप भएको छ । २५ करोडसम्म कारोबार भएक कम्पनीहरूले आगामी मंसिर मसान्तसम्म विवरण पेस गर्नुपर्ने विभागले जनाएको छ ।
त्यसैगरी, वार्षिक २५ करोड बढी कारोबार गर्ने करदाताको हकमा साढे २ महिना म्याद थप भएको छ । यस्ता कम्पनीले आगामी पुस २० गतेसम्म गत वर्षको आय विवरण पेस गर्नुपर्नेछ ।
