सिद्धबाबा सुरुङमार्गका दुई बाइपास सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौं । सिद्धार्थ राजमार्गको पाल्पास्थित निर्माणाधीन सिद्धबाबा सुरुङमार्गका दुईवटा बाइपास सुरुङको ब्रेक थ्रु भएको छ । आयोजना अन्तर्गत निर्माण भइरहेका ३ वटा बाइपास सुरुङ मध्ये दुई वटा ब्रेक थ्रु गरिएको हो ।

सिद्धबाबा सुरुङ मार्ग आयोजनका अनुसार बाइपास १ को १५१ मिटर लामो सुरुङ आज (असोज ४ गते) बिहान ब्रेक थ्रु गरिएको हो । त्यस्तै, १३० मिटर लामो बाइबास ३ को सुरुङ गत भदौ २६ गते ब्रेक थ्रु गरिएको आयोजनाले जनाएको छ ।

अब मुख्य सुरुङ र बाइपास २ को सुरुङ ब्रेक थ्रु हुन बाँकी छ । ११२६ मिटर लामो मुख्य सुरुङको हालसम्म ५४५.५७ मिटर सुरुङ खन्ने काम सकिएको छ । हालसम्म मुख्य सुरुङको उत्तरतर्फ २३७.८० मिटर र दक्षिणतर्फ ३०७.७७ मिटर खनिसकिएको छ । अब ५८०.७३ मिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । मुख्य सुरुङ यस वर्ष भित्र ब्रेक थ्रु गरिसक्ने आयोजनाको लक्ष्य छ ।

यसैगरी, १६१ मिटर लामो बाइपास २ को सुरुङमध्ये हालसम्म ११७ मिटर खनि सकिएको छ । यो बाइपास सुरुङ ब्रेक थ्रु पनि दशैं अघि नै गरिसक्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

आयोजना अन्तर्गत दक्षिणतर्फ २ हजार ३०० स्लोप प्रोटेक्सन गर्नु पर्नेमा हालसम्म १ हजार ४९५ वर्गमिटर र ११०० मिटरको उत्तरतर्फ ४९५ वर्गमिटर बराबरको काम सम्पन्न भएको छ । हालसम्म आयोजनाको समग्रमा भौतिक प्रगति २२.८५ प्रतिशत पुगेको छ । त्यस्तै, वित्तीय प्रगति २६.४ प्रतिशत रहेको छ ।

कुल १ हजार १२६ मिटर लामो यो सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएको हो । यस मोडलमा ठेकेदार कम्पनीले नै डिजाइन, खरिद, निर्माण र तोकिएको समयसम्म सञ्चालन र मर्मतसम्भार समेत गर्नुपर्छ ।

सुरुङमार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ । कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का पाएको हो । ठेक्का सम्झौता अनुसार २२ मार्च २०२७ भित्र सुरुङ निर्माण सम्पन्न गर्नुपर्नेछ ।

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डमा सिद्धबाबाको मन्दिरको उत्तरतर्फ चिडियाखोला नजिकै सुरुङमार्गको एउटा पोर्टल रहनेछ । चिडियाखोलाको खोँच हुँदै दोभान नजिकै निस्कने छ ।

निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्गका रुपमा रहेको सिद्धबाबा सुरुङमार्गको निर्माण लुम्बिनी प्रदेशसँगै देशको पूर्वाधार विकासका हिसाबले महत्वपूर्ण छ । बाह्रै महिना खस्ने पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा सुरुङ निर्माण गर्न लागिएको हो ।

नेपालमा पहिलो पटक बन्न लागेको ‘रकसेड’ले पहिरोको व्यवस्थापन गरी क्षति कम गराउने अपेक्षा गरिएको छ । सुरुङ दुई लेनको हुनेछ । यहाँ चल्ने गाडीमध्ये पनि मुख्य सवारीसाधनलाई सुरुङबाट पठाइने र साना र कम क्षमताको सवारीसाधनलाई ‘रकसेड’बाट पठाउने गरी योजना बनाइएको छ । ठेला गाडा, साना टेम्पो कम लोडको रकसेडबाट पठाइने र अरु सवारीसाधन सुरुङबाटै जानेछन् ।

सुरुङमार्गले गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बागलुङलगायत दर्जन बढी जिल्लासीलाई सुविधा पुग्नेछ । सुरुङ सञ्चालनमा आएपछि सम्भावित दुर्घटना कम गराउन र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आँखुखोलाको साढे १७ लाख कित्ता सेयर लिलामीमा, कहाँबाट दिने आवेदन ? Read Previous

आँखुखोलाको साढे १७ लाख कित्ता सेयर लिलामीमा, कहाँबाट दिने आवेदन ?

रुपा चक्रपथ दोस्रो खण्डको निर्माण सुरू Read Next

रुपा चक्रपथ दोस्रो खण्डको निर्माण सुरू