काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गोँगबुस्थित नयाँ बसपार्कलाई प्रविधिमैत्री बनाइने भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र पूर्व यातायात व्यवस्थापन प्रालिले विश्वकर्मा पूजाका अवसरमा आज नयाँबसपार्कमा आयोजना गरेको कार्यक्रममा यातायात क्षेत्रको सुधारका लागि गोँगबु बसपार्कलाई प्रविधिमैत्री बनाइने व्यवसायीले बताएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले नयाँ बसपार्कलाई दसैँअगाडि प्रविधिमैत्री बनाउने गरी महासङ्घले तयारी गरिरहेको जानकारी दिए ।
‘नयाँ बसपार्क क्षेत्रमा देखिएको विकृति, विसङ्गति अन्त्य गर्न महासङ्घ लाग्नेछ,’ उनले भने । उनले मुलुकको सार्वजनिक यातायातको क्षेत्रमा रु १० खर्ब बढी लगानी र चार लाखले प्रत्यक्ष रोजगारी पाएको बताउँदै यसको संरक्षणका लागि यातायात व्यवसायी तथा मजदुर एक भएर अगाडि बढ्नुपर्ने बताए ।
उनले महिलालाई सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने वातावरण निर्माण गर्न महासङ्घले तालिम तथा गोष्ठी आयोजना गर्ने उल्लेख गरे । बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले नयाँ बसपार्कलाई नमूना बसपार्कका रुपमा विकास गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए। उनले चाडपर्वमा घर जाने यात्रु सार्वजनिक यातायातको भाडामा ठगिएको जनगुनासो आउने गरेकाले त्यसलाई रोक्न व्यवसायी र मजदुरलाई आग्रह गरे ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेकनाथ गौतमले यात्रुमैत्री, व्यवसायमैत्री र मजदुरमैत्री बसपार्क निर्माणमा सबै लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा महिला चालक रेविका थापा र सहचालक निरुता खत्रीलाई सम्मान गरिएको थियो । उनीहरुलाई नगद रू. ५ हजारसहित सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै महिला चालक थापाले सार्वजनिक यातायातको क्षेत्रमा काम गर्दा महिलाहरुले समस्या भोग्नुपरेको बताइन्