काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूले धमाधम गत आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गर्न थालेका छन् ।
सूचीकृत कम्पनीले नयाँ आर्थिक वर्ष लागेको ६ महिना भित्र गत वर्षको वार्षिक साधरण सभा गर्नुपर्ने कानुनी व्यवस्था छ । सो अनुसार समयमै साधरण सभा सम्पन्न गर्न कम्पनीहरूले धमाधम लाभांश घोषणा गर्न थालेका हुन् ।
यसैक्रममा, हालसम्म १० कम्पनीले गत आवको मुनाफाबाट लाभांश घोषणा गरिसकेको छन् । हालसम्म एभरेष्ट बैंक, कामना सेवा विकास बैंक, अपि पावर, सुपरमाइ हाइड्रोपावर, भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट र नेपाल ल्युबले गत आवको नाफाबाट लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गरेकामध्ये माण्डु र भगवती हाइड्रोपावरले साधरण सभा डाकी बुकक्लोज समेत गरिसकेका छन् । त्इस्तै, एभरेष्ट बैंक, अपि पावर, ओरेन्टल होटल र नेपाल ल्युबले पनि दशैं अघि नै साधरणसभा गर्नेगरी बुकक्लोज मिति तोकिसकेका छन् ।
कुनको कति ?
गत वर्षको नाफाबाट एभरेष्ट बैंकले १५.५३ प्रतिशत (१०% बोनस र ५.५३% नगद), कामना सेवाले १२ प्रतिशत (७% बोनस र ५% नगद), अपि पावर ९.४७ प्रतिशत (९% बोनस र ०.४७% नगद), सुपरमाइ हाइड्रोपावर १२.६३ प्रतिशत (७% बोनस र ५.६३% प्रतिशत नगद) र माण्डु हाइड्रोपावरले १२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
त्यसैगरी, भगवती हाइड्रोपावरले १४.७३ प्रतिशत (४% बोनस र १०.७३% नगद), नेपाल ल्युब २५ प्रतिशत (२०% बोनस र ५% नगद), ओरेन्टल होटल ५.२६ प्रतिशत (५% बोनस र ०.२६% नगद), हाथवे इन्भेष्टमेन्ट १०.५३ (१०% बोनस र ०.५३% नगद), सीईडीबी हाइड्रोपावरले ११ प्रतिशत बोनस सेयर लाभांश घोषणा गरेको छ ।
प्रस्तावित सबै कम्पनीको लाभांश सम्बन्धित कम्पनीको वार्षिक साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।