काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलनमा सुधार देखिएको छ । महालेखा नियन्त्रका कार्यालका अनुसार चालु आवको साउन र भदौमा सरकारले मसान्तसम्ममा १ खर्ब ६६ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो चालु आवको लक्ष्यको ११.७२ प्रतिशत हो ।
चालु आवको दुई महिनामा गत वर्षको सोही अवधिको तुलनामा राजस्व संकलन २५ अर्ब रुपैयाँले बढेको हो । गत वर्ष साउन र भदौमा कुल १ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।
गत वर्षको तुलनामा आर्थिक गतिविधिमा केही सुधार आउँदा सरकारको आम्दानी पनि बढेको हो । अर्थतन्त्र क्रमशः चलायमान हुँदा जाँदा कर तिर्ने पनि बढेकाले राजस्व बढेको हो
चालु आवको भदौसम्म सरकारले करतर्फ १ खर्ब ४५ अर्ब र गैरकर २१ अर्ब १९ करोड रुपैयाँ राजस्व उठाएको छ । सरकारले चालु आवका लागि १४ खर्ब १९ अर्ब ३० करोड बराबर राजस्व उठाउने लक्ष्य राखेको छ ।
चालु आवको दुई महिना बित्दा समेत वैदेशिक अनुदान भने प्राप्त भएको छ । सरकारले यस वर्ष ५२ अर्ब ३२ करोड वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेका छ ।
खर्च पनि बढ्यो
सरकारले चालु आवको दुई महिनामा १ खर्ब ३७ अर्ब ५५ करोड २७ लाख रुपैयाँ बराबर बजेट खर्च गरेको छ । यो लक्ष्यको ७.३९ प्रतिशत हो । सरकारले चालु आवमा कुल १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएको थियो ।
गत वर्षको तुलनामा यस वर्ष बजेट खर्चमा पनि सामान्य सुधार भए पनि खर्च गर्ने प्रवृत्ति भने उस्तै छ । पूँजीगत खर्च न्यून छ भने चालु खर्च धेरै छ ।
सरकारले भदौसम्म ८२ अर्ब ९८ करोड रुपैयाँ चालु खर्च गरेको छ । यो चालु आवको लक्ष्यको ७.३९ प्रतिशत हो । चालु आवमा ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ चालु खर्च गर्ने सरकारको लक्ष्य छ । गत वर्षको दुई महिनामा यो शिर्षकमा ३.९९ प्रतिशत बजेट खर्च भएको थियो ।
यस्तै, चालु आवको भदौ मसान्तसम्म पूँजीगत खर्चमा पनि केही सुधार आएको छ । चालु आवमा ३ खर्ब ५२ अर्ब ३५ करोड पूँजीगत खर्च गर्ने लक्ष्य राखेका सरकारले दुई महिनामा १४ अर्ब ८९ करोड ४० लाख बराबर बजेट खर्च गरेको छ । यो लक्ष्यको ४.२३ प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लक्ष्यको १.८७ प्रतिशत मात्रै पूँजीगत बजेट खर्च भएको थियो ।
दुई महिनामा वित्तीय व्यवस्थापन शीर्षकमा ३९ अर्ब ६७ करोड २२ लाख रुपैयाँ खर्च भएको छ । यो रकम सरकारले लिएको ऋणको साँवा र ब्याज तिर्न खर्च गरेको हो ।
सरकारले चालु आवका वित्तीय व्यवस्थापनतर्फ लागि ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ बजेट छुट्याएको छ । जसमध्ये दुई महिनामा १०.८ प्रतिशत खर्च गरेको हो ।