सुनवलमा संचालनमा आयो ३ हजार मेट्रिक टन क्षमताको शीत भण्डार

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका‐२ मा ३ हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

सङ्घीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको सुनवल नगरपालिकाकी अध्यक्ष बिमला अर्यालले जानकारी दिइन् ।

डेढ बिघा जग्गामा पाँच वटा चेम्बर भएको शीतभण्डार रु १९ करोड ४२ लाख लागतमा निर्माण गरिएको हो । पाँच वटा चेम्बरमध्ये हाल एउटा चेम्बर मात्र सञ्चालनमा छ । त्यसमा किसान र व्यापारीले २५० बोरा आलु भण्डारण गरेको जिल्ला सहकारी शीतभण्डारका व्यवस्थापक जय शेषमणि पटेलले बताए ।

उनका अनुसार जिल्ला सहकारी सङ्घ लिमिटेडको सहकारी शीतभण्डार मुलुकमै धेरै क्षमताको शीतभण्डारमध्ये एक हो । शीतभण्डार निर्माणका लागि सङ्घीय सरकारले ६० प्रतिशत अनुदान, स्थानीय सहकारीको २० र स्थानीय सरकारको २० प्रतिशत लगानी रहेको छ । शीतभण्डारको पाँच वटै चेम्बर प्रयोगमा ल्याउन सकिएमा वार्षिक दुई करोड ५० लाख राजस्व सङ्कलन गर्न सकिने व्यवस्थापक पटेलले बताए ।

पछिल्लो समय जिल्लामा शीतभण्डार नहसँदा किसानले जिल्ला बाहिरका शीतभण्डारमा कृषि उपज भण्डारणका लागि लानुपर्ने समस्या थियो । हाल सञ्चालनमा आएको शीतभण्डारमा नवलपरासी, रुपन्देही र कपिलवस्तुसम्मका किसानको कृषि उपज भण्डारण गर्न सकिने गरी निर्माण गरिएको हो ।रासस

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टर गठन Read Previous

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टर गठन

राजस्व संकलन २५ अर्बले बढ्यो, पूँजीगत खर्चमा पनि सुधार Read Next

राजस्व संकलन २५ अर्बले बढ्यो, पूँजीगत खर्चमा पनि सुधार