काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले सहकारी क्षेत्र पूरै नक्कली ‘फेक’ आधारमा चलिरहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा प्रतिवेदन बुझाउने क्रममा उनले सहकारीमा सेयर सदस्यदेखि सञ्चालक, ऋणीसम्म ‘फेक’ हुने गरेको पाइएको बताएका हुन् ।
उनले भने, ‘सहकारी क्षेत्रले नक्कलीको बिगबिगी खेपिरहेको छ । यहाँ विवाह, अंशबन्डा, पुनर्विवाह पनि फेक गरिएको छ । लेखापरीक्षण प्रतिवेदन फेक छन्, कार्य प्रणाली पनि फेक छन् । साधारणसभा, प्रतिवेदन पनि फेक छन्,’ उनले भने, ‘सबैभन्दा डरलाग्दो त ऋणी र लेखापरीक्षण प्रतिवेदन पनि फेक छन् ।’
सरकारले अवलम्बन गरेको अर्थतन्त्रका तीन पिलरमध्ये सहकारी ढल्न लागेको बताए । ‘तीनवटा पिलरमध्ये सहकारी क्षेत्र सबैभन्दा कमजोर बाँसको पिलरका रूपमा रहेको छ । निजी क्षेत्र फलामको पिलर, सार्वजनिक क्षेत्र काठको पिलर र सहकारी क्षेत्र बाँसको कमजोर पिलर भएको छ । जताको पिलर कमजोर हुन्छ भार त्यतै जाने हुँदा थप कमजोर हुने समस्या छ,’ उनले भने ।
उनले सहकारीको स्वनियमको मान्यतामा पुनर्विचार गरी नियमनतर्फ जानु आवश्यक देखिएको सुझाव पेस गरे ।उनले सहकारी क्षेत्रको समस्या समाधान गर्नको लागि सबै दलको साझा धारणा बनेको समेत बताए ।