काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई उड्डयनमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरि बनेको विधेयक अर्थ, कानुन मन्त्रालय हुँदै हाल मन्त्रिपरिषद्को विधेयक समितिमा पुगेसकेको बताएका छन् ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।
उनले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव तथा नागरिक उड्डयनका क्षेत्रमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरि बनेको विधेयक मन्त्रीपरिषद्मा पेश भइसकेको बताए ।
उनले अहिले प्रस्ताविगत छानविबन समितिमा यस अघिका कार्यदलले बनाएका अध्ययन प्रतिवेदनहरूलाई रिफ्रेन्सका रूपमा लिएर अघि बढ्ने जानकारी गराए । उनले अध्ययनले दिएको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे ।
मन्त्री पाण्डेले हवाई दुर्घटनाका विषयमा संसदमा समेत सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएर छलफल समेत भइसकेको बताए । मन्त्री पाण्डेले मन्त्रालय र मातहतका निकायमा संस्थागत र संरचनागत कुरामा सुधार गर्दै अघि बढिरहेको बताए ।
उनले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि अन्तरमन्त्रालय स्तरमा काम भईरहेको जानकारी गराए ।