काठमाडौं । सेयर बजारमा लगातार उच्च अंकको गिरावट आएको छ । आइतबार ५० अंकले घटेको नेप्से आज ५७ अंकले घटेको हो । यस साता दुई दिनमै नेप्से १०७ अंकले घटेको छ ।
सोमबार नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ बिन्दुमा आइपुगेको छ । आज ३१२ कम्पनीको १ करोड ७९ लाख ६१ हजार ८०७ कित्ता सेयर किनबेच भएको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्ब ९७ करोड रुपैयाँले घटेर ७ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको छ ।
आज कारोबारमा आएका १३ ओटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ५.६६ प्रतिशतले घटेको छ ।
आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक ३१ करोड ११ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, सानिमा रिलायन्स लाइफको २७ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २२७ कम्पनीको घटेको छ ।
उच्च अंकले घटेको बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । आत्म निर्भर लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ ।
आज गुडविल फाइनान्सका सेयरधनीले भने सर्वाधिक ९.९१ प्रतिशत गुमाएका छन् ।