काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई असोज मसान्त भित्र नवीकरण शुल्क बुझाउन निर्देशन दिएको छ ।
नेप्सेले आइतबार एक सूचना जारी गर्दै नेप्सेले धितोपत्र कारोबार नियमावली बमोजिम सूचीकरण नवीकरण शुल्क बुझाउन कम्पनीहरूलाई समयसीमा तोकेको हो ।
कानूनी व्यवस्था अनुसार नेप्सेमा सूचीकृत भएका कम्पनीहरूले वार्षिक सूचीकरण नवीकरण शुल्क असोज मसान्तसम्ममा बुझाइसक्नु पर्नेहुन्छ । तोकिएको समयसीमा भित्र नवीकरण शुल्क नबुझाउने कम्पनीले १० प्रतिशत जरिवाना तिर्नुपर्ने नेप्सेले जनाएको छ ।
धितोपत्र कारोबार नियमावली अनुसार ५० करोड रुपैयाँसम्म चुक्तापूँजी भएका कम्पनीले ५० हजार, ५० करोडमाथि चुक्ता पूँजी भएका कम्पनीले १ लाख रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्ने हुन्छ ।
त्यस्तै, डिबेन्चर र सामूहिक लगानी कोषको हकमा ५० करोड रुपैयाँसम्म चुक्तापूँजी हुनेले २५ हजार र ५० करोडमाथि चुक्ता पूँजी हुनेले ५० हजार नवीकरण शुल्क बुझाउनुपर्नेछ ।
नेप्सेले सूचीकृत कम्पनीलाई संस्थाको नाममा ग्लोबल आइएमईको बैंकमा रहेको खाता नं. ७५०१०१००००७७५ मा नवीकरण शुल्क जम्मा गरिदिन भनेको छ ।