बन्द भए चितवनका ४४ ओटै इँटा उद्योग, गुम्यो हजारौं रोजगारी

चितवन । गुणस्तरीय इँटा उत्पादन हुँदै आएको यहाँका सबै इँटा उद्योग बन्द भएका छन् । २० वर्ष अघिसम्म ४४ इँटा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै उद्योग बन्द भएका हुन् ।

नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्ष नारायण सापकोटाका अनुसार क्रमशः सङ्ख्या घट्दै गएर अहिले कुनै उद्योग सञ्चालनमा छैनन् । गत साल एउटा उद्योगले एकपटक इँटा उत्पादन गरेको भए पनि यस वर्ष कुनै पनि उद्योग सञ्चालनमा छैनन् ।

उनले भने, ‘गत वर्षदेखि नै यहाँका उद्योग बन्द भएभन्दा हुन्छ ।’ एउटा उद्योगमा ४०० हाराहारी मजदुरले काम पाउने गरेको भन्दै उनले हजारौं मजदुरको रोजिरोटी बन्द भएको र करोडौ रुपैयाँ उद्योगले नोक्सान बेहोरेको बताए ।

चितवनको इँटा राम्रो इँटाको रुपमा चिनिन्थ्यो । चितवन र छिमेकी जिल्लामा यहाँको इँटा जाने गर्दथ्यो । अहिले यहाँ रौतहट, बारा र महोत्तरीबाट इँटा ल्याएर बिक्री वितरण गरिँदै आएको छ ।

सापकोटाका अनुसार बजार घट्दै जानु, अस्वस्थ प्रतिस्पर्धा हुनु, बाहिरबाट ल्याइएका कम गुणस्तरका इँटा प्रयोगमा आउनु, घनाबस्ती बढ्दै जानु, माटोको अभाव हुनु, स्थानीयले अवरोध गर्नु लगायतका कारण उद्योग बन्द हुन पुगेका हुन् ।

सरकारले माटोमा अन्तःशुल्क लगाउँदा मूल्य बढेर पनि प्रभाव परेको इँटा उद्योग सङ्घ चितवनका अध्यक्षसमेत रहेका सापकोटा बताउँछन् । यस्तै अवस्थामा पुनः उद्योग सञ्चालन हुने अवस्था निकै कम रहेको उनको भनाइ छ । जिल्लामा विगत ४० वर्षयता व्यावसायिक रुपमा इँटा उद्योग सञ्चालनमा रहेका थिए ।रासस

अख्तियार अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश Read Previous

अख्तियार अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

४ वर्षपछि पहिलो पटक ब्याजदर कटौती गर्दै अमेरिकाको केन्द्रीय बैंक Read Next

४ वर्षपछि पहिलो पटक ब्याजदर कटौती गर्दै अमेरिकाको केन्द्रीय बैंक