नेपालका १० ठूला बैंकको बाह्य लेखा परीक्षण गराउने प्रक्रिया रद्द

काठमाडौं । विदेशी लेखा परीक्षकबाट नेपालका १० ठूला बैंकको बाह्य लेखा परीक्षण गराउने प्रक्रिया रद्द भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै १० ठूला बैंकको विदेशी कम्पनीले अडिट गर्ने प्रक्रिया रद्द भएको जानकारी गराएको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को शर्त बमोजिम विदेशी अडिटरबाट नेपालका १० ठूला बैंकको बाह्य लेखा परीक्षण गर्न लागिएको थियो । त्यसका लागि राष्ट्र बैंकले गत चैतमा आशयपत्र माग गरेको थियो । जसमा ५ कम्पनी सर्टलिस्टमा परेकामा भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज एलएलपी, इन्डिया छनोट भएको थियो । तर, केपीजीले पेश गरेको आर्थिक प्रस्ताव अस्वीकृत भएसँगै बाह्य लेखा परीक्षण कार्य रद्द भएको राष्ट्र बैंकले जनाएको छ ।

नेपालका बैंकहरूको कर्जाको गुणास्तरमा आशंक लागेपछि आइएमएफले आफ्नै सहयोगमा बाह्य लेखा परीक्षण गर्न सरकारकालाई भनेको थियो । आईएमएफले नेपालका बैंकहरूको खराब कर्जा वास्तविक नभएको, धितो मूल्यांकनसम्बन्धी विधि प्रभावकारी नभएको, वित्तीय अनुशासन नभएको लगायतका विषयहरू उठाएको थियो ।

आइएमईकै शर्त अनुसार राष्ट्र बैंकले १० ठूला बैंकको बाह्य लेखा परीक्षण गराउने प्रक्रिया अघि बढाएको थियो । विदेशी अडिटर कम्पनीले ठूला बैंकहरूले कर्जा लगानी गर्दा लिएको धितोको मूल्यांकन गर्ने, ऋण तिर्नका लागि ऋण लिने परिपाटी भए/नभएको, कर्जा केन्द्रीकृत भए/नभएको, समूहगत कर्जा लिने प्रवृत्ति कस्तो छ भन्ने लगायत परीक्षण गर्ने तय भएको थियो ।

सन् २०२१ डिसेम्बर २२ मा नेपालको तर्फबाट तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग विस्तारित कर्जा सुविधा (ईसीएफ) माग गरेका थिए ।

त्यसपछि आइएमएफले नेपाललाई शर्तसहित ३८ महिनाको लागि प्राप्त हुने गरी ३९ करोड ८८ लाख डलरको सहयोग गर्ने बताएको थियो । आइएमएफले नेपालका १० ठूला बैंकहरूको अन्तर्राष्ट्रिय अडिट फर्मले स्थलगत निरीक्षण गर्ने शर्त राखेको थियो । नेपालले आइएमएफलाई पेश गरेको ज्ञापनपत्रमा २०२३ मार्च भित्र १० ठूला बैंकको स्थलगत निरीक्षण गरिसक्ने बताए पनि ईसीएफको कार्यान्वयनमा भएको ढिलाईसँगै केहीपछि धकेलिएको थियो ।

पारा ओलम्पिकमा पदक विजेता पलेशालाई सरकारले दियो ६५ लाख पुरस्कार Read Previous

पारा ओलम्पिकमा पदक विजेता पलेशालाई सरकारले दियो ६५ लाख पुरस्कार

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न सर्वोच्च अदालतको आदेश Read Next

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न सर्वोच्च अदालतको आदेश