धरहरा असोज ३ देखि अस्थायी रूपमा खुला गरिने

काठमाडौं । सरकारले निर्माणाधीन अवस्थामै रहेको धरहारा असोज ३ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधान दिवसको अवसरमा अस्थायी रूपमा धरहरा सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो ।

सरकारले हाललाई धरहरा सञ्चालनको जिम्मा सहरी विकास मन्त्रालयलाई दिएको छ । आधा मात्रै निर्माण पूरा हुँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते नै धरहराको उद्घाटन गरेका थिए । तर, हालसम्म पनि काम सम्पन्न हुन नसक्दा संचालनमा आउन सकेको छैन ।

२०७२ को भूकम्पबाट क्षतिग्रस्त भएपछि २ वर्ष भित्र सम्पन्न गर्नेगरी २०७५ पुसदेखि धरहराको पुनर्निर्माण थालिएको थियो । पटक पटक म्याद थपिए पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन् । यद्यपि, हाल धरहराको अण्डर ग्राउण्डमा सर्वसाधरणका लागि निःशुल्क पार्किङ खुला गरिएको छ ।

हालसम्म संचालनको मोडालिटी बनेको छैन । केही समय अघि धरहरा संचालनको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र शाहबीच विवाद भएको थियो ।

धरहरा पुन निर्माण अन्तर्गत मुख्य संरचना निर्माण सम्पन्न भए पनि फिनसिङको काम बाँकी छ । फिनिसिङ, रंगरोगन, विद्युत जडान तथा अन्य प्राविधिक कामहरू अझै बाँकी रहेको छ ।

५ रोपनी क्षेत्रफलमा रहेको धरहरा परिसर अहिले ४२ रोपनीमा फैलिएको छ । २२ तले धरहराको तीन तल्लासम्म पार्किङको व्यवस्था हुनेछ । यहाँ सबैले सशुल्क पार्किङको सुविधा पाउनेछन् । पार्किङकमा एक पटकमा चार पाङ्ग्रे गाडी ३४७ वटा र कम्तीमा ७०० मोटरसाइकल अट्नेछन् ।

हालसम्म धरहरा निर्माणका क्रममा साढे २ अर्ब रुपैयाँ बढि रकम खर्च भइसकेको छ । धरहरा निर्माण आयोजनाको कुल लागत ३ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । यसको पुनर्निर्माणको ठेक्का रमन कन्स्ट्रक्सनले पाएको छ ।

सुनको मूल्य तोलामै ३ हजार बढ्यो, फेरि बनायो नयाँ रेकर्ड Read Previous

सुनको मूल्य तोलामै ३ हजार बढ्यो, फेरि बनायो नयाँ रेकर्ड

पारा ओलम्पिकमा पदक विजेता पलेशालाई सरकारले दियो ६५ लाख पुरस्कार Read Next

पारा ओलम्पिकमा पदक विजेता पलेशालाई सरकारले दियो ६५ लाख पुरस्कार