काठमाडौं । लामो चर्चापछि नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ)को काम सुरु भएको छ । नेपालको कन्ट्री रेटिङका लागि अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी ‘फिच क्रेडिट रेटिङ्स’ कम्पनीको टोली नेपाल आएको हो ।
नेपाल आएको फिच क्रेडिट तोलीले बुधबारदेखि नै औपचारिक रुपमा आफ्नो काम थालिसकेको छ । टोलीले अहिले विभिन्न पक्षसँग छलफल गरिरहेको छ । टोलीले नेपालका सरकारी तथा निजी क्षेत्रसँग छलफल गर्ने कार्यतालिका रहेको छ ।
सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत मुलुकको सार्वभौम क्रेडिट रेटिङ गराउने घोषणा गरेको थियो । घोषणाको ६ वर्षपछि बल्ल काम सुरु भएको हो । यद्यपि, कन्ट्री रेटिङका लागि कम्पनी छनोट लगायत काम यसअघि नै सम्पन्न भएको थियो ।
सरकारले अन्तर्राष्ट्रिय आह्वानबाट कम्पनी छनोट गरेको थियो । रेटिङसम्बन्धी विश्वका तीन प्रमुख कम्पनी फिच, मुडिज र स्ट्यान्डर्ड एन्ड पुअर्सले आवेदन पनि दिए । जसमध्ये सरकारले ‘फिच रेटिङ एजेन्सी’ सँग क्रेडिट रेटिङसम्बन्धी सम्झौता गरेको थियो । विश्वमा मुलुकहरूको क्रेडिट रेटिङ गर्ने ठूला एजेन्सीमध्ये फिच रेटिङ्स एक मानिन्छ ।
यसअघि कन्ट्री रेटिङको प्रक्रिया सुरु हुनै लाग्दा कोरोना महामारी आएपछि सो प्रक्रिया बीचैमा रोकिएको थियो । कोरोनाका कारण अर्थतन्त्रका सबै सूचक नकारात्मक रहेको र क्रेडिट रेटिङ गर्दा अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक सन्देश जाने भन्दै सरकारले सो बेला रेटिङको का स्थगित गर्न आग्रह गरेको थियो ।
गत वर्ष तत्कालीन अर्थमन्त्री वर्षमान पुनले पुरानो सम्झौता नवीकरण गरेर प्रक्रिया सुरु गर्न सम्बन्धित कम्पनीलाई आग्रह गरेका थिए । सोही क्रममा फिच रेटिङको मूल्यांकन टोली स्थलगत अवलोकन तथा छलफलका लागि पहिलोपटक नेपाल आएको हो ।
कुनै पनि देशको ऋण योग्यता (क्रेडिट वर्दिनेस) तथा लगानीको वातावरण सम्बन्धी स्वतन्त्र मूल्यांकनका लागि कन्ट्री रेट्रिङ गरिन्छ । क्रेटिङ रेटिङ गर्दा एजेन्सीहरूले ऋण तिर्ने अनुपात, आन्तरिक मुद्रा प्रदायको दर, आयात तथा निर्यातको दरलगायत धेरैवटा सूचकलाई हेर्ने गर्छन् ।

सार्वभौम रेटिङले कुनै मुलुकको ऋणपत्रमा लगानी गर्दा आउनसक्ने जोखिमहरूबारे जानकारी दिन्छ । रेटिङ कम्पनीले सम्बन्धित मुलुकको आर्थिक तथा राजनीतिक वातावरणको स्वतन्त्र मूल्यांकन गरेर रेटिङ दिन्छ ।
कन्ट्री रेटिङकै आधारमा विदेशी लगानीकर्ताहरूले कुनै मुलुकमा लगानी गर्नु कत्तिको सुरक्षित छ भनेर मूल्यांकन गर्ने गर्छन् । त्यस्तै, कुनै मुलुकलाई अन्तर्राष्ट्रिय बजारमा ऋणपत्र जारी गरी ऋण उठाउन क्रेडिट रेटिङ अनिवार्य रूपमा चाहिन्छ ।
रेटिङ एजेन्सीले देशको समग्र अवस्थाको अध्ययन गरी ‘एएए’ ‘ट्रिपल ए) देखि सी ग्रेडसम्म रेटिङ दिन्छन् । ट्रिपल एले सबैभन्दा बलियो अवस्था र सीले सबैभन्दा कमजार अवस्था जनाउँछ ।
‘नेपालमा लगानी गर्न थप अनुकूल वातावरण बन्छ’
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सार्वभौम साख मूल्याङ्कनपछि नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
बिहीबार फिच क्रेडिट रेटिङ टोलीसँगको भेटमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङ सम्पन्न भएपछि लगानीकर्तालाई नेपालमा पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्न थप अनुकूल वातावरण बन्ने बताएका हुन् ।
अर्थमन्त्रीसँग टोलीमा सहभागीहरूले नेपालमा राजस्व परिचालन, पूँजीगत खर्च, सार्वजनिक ऋण, वैदेशिक सहयोग परिचालनलगायत विषयमा चासो व्यक्त गरेका थिए ।