काठमाडौं । हालसम्म नेपालमा एक मात्र अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा रहेको छ ।
पूर्वदेखि पश्चिम सबै तिरका मानिसहरु वैदेशिक यात्राका लागि नेपालकै एक मात्र अन्तराष्ट्रिय विमानस्थल, त्रिभुवन विमानस्थल आउनु पर्ने हुन्छ । यसका अलावा यो विमानस्थल सारै सानो भएका कारण बिश्वका ठूलो जहाज कम्पनीहरु नेपालमा आउन नचाहीरहेको अवस्था छ, जसका कारणले प्रकृतिक सुन्दरताका बावजुद वार्षिक २० लाख पर्यटक भित्राउन पनि हम्मे हम्मे परेको छ । यसको सोझो अर्थ के हो भने नेपालमा दिर्घकालिन रुपमा एउटा अन्तराष्ट्रिय विमानस्थल अत्यावश्यक भइसकेको छ ।
यस्तो अवस्थामा पनि विगत २५ वर्षदेखि बन्ने क्रममा रहेको दोस्रो अन्तराष्ट्रिय निजगढ विमानस्थल हाल रोकिएको अवस्थामा छ । पूर्वपश्चिम–उत्तरदक्षिण सबै स्थानका जनताका लागि सबैभन्दा राम्रो विकल्पको रुपमा रहेको भनिएको निजगढ विमानस्थलको निर्माण फेरी एकपटक प्रशासनिक झमेलामा फसेको छ ।
‘२५ वर्षदेखि सुरु भएको अहिले २६ वर्ष लाग्न लागि सक्यो । हामीलाई देशको मुहार फेर्ने आयोजना चाहिन्छ, त्यसमा निजगढ विमानस्थल एक नम्बरमा पर्छ,’ उप्रेतीले भने । उनले जुनसुकै विकासकाे काममा वातावरणीय प्रभाव पर्ने भएकाले त्यो प्रभाव सकेसम्म कम हुने तरिकाले त्यसको केही विकल्प खोज्दै अघि बढ्नु पर्ने बताए ।
पछिल्लो समय बजारमा निजगढ विमानस्थल बन्नु पर्छ कि पर्दैन भन्ने विषयले ठूलो चर्चा पाएको छ । नेपाललाई अर्को एउटा विमानस्थल अत्यावश्यक छ भन्ने सबैको साझा मत भए पनि पर्यावरणीय दृष्टिकोणले रुख काट्नु कत्तिको आवश्यक भन्ने प्रश्नले बहसमा धेरै महत्व पाएको देखिन्छ । कतिपय मानिसहरुलाई भने काटिएको रुख राज्यका संरक्षणमा रहेका माफीयाले उम्क्याउने हुन् की भन्ने चिन्ता देखिन्छ ।
तर, यो सँग सम्बन्धित धेरै सरोकारवाला मानिसहरु भने यो विमानस्थल निजगढमै बनाउनु पर्ने बताउँछन् । काटिएको रुखको सट्टा अर्को ठाउँमा रुख रोपिने र काटिएका रुख सार्वजनिक हितका लागि प्रयोग गरिने आश्वासन उनीहरुले दिइरहेका छन् ।
यसै मेसोमा हामी यहाँ निजगढ विमानस्थलका बिषयमा सरोकारवालाहरु के भन्छन् वा उनीहरुको धारणा के छ भन्ने बिषयमा केन्द्रित भएका छौं ।
नागरिक उड्यन तथा संस्कृती मन्त्री योगेश भट्टराई भैरहवा र पोखरा विमानस्थलले काठमाडौंको विकल्प नदिने बताउँछन् । उनी त्रिभुवन विमानस्थलको विकल्प निजगढ मात्र हुन सक्ने र त्यो भन्दा अर्को विकल्प नरहेको बताउँछन् । ‘काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको एक मात्र विकल्प निजगढ विमानस्थल हो, जुन अहिलेको अवस्थामा अत्यावश्यक छ,’ मन्त्री भट्टराई भन्छन् ।
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी निजगढ विमानस्थल बन्नै पर्ने भएता पनि सर्वोच्चको अगाडी आफ्नो केही नलागेको बताउँछन् । उनले सर्वोच्चको निर्णय विपरित जान नसक्ने भन्दै निजगढ विमानस्थल निर्माण ढिलाई हुने तर जसरी भएपनि बन्नु पर्ने बताए । ‘निजगढ विमानस्थल अहिलेको आवश्यकता हो । यसको विकल्पमा पोखरा या भैरहवा विमानस्थललाई लिन सकिदैंन,’ अधिकारीले भने ।
वन मन्त्रालयका सचिव विश्वनाथ ओलीले भने यो विषयमा अहिले केही पनि बोल्न चाहेनन् ।
हवाई विज्ञ तथा क्यानको पूर्वनिर्देशक विरेन्द्र बहादुर देउजाले निजगढको ‘लोकेशन’ उचित स्थानमा भएको बताए । निजगढ विमानस्थल काठमाडौंबाट दक्षिण तर्फ पर्ने र त्यहाँ विमानस्थल बनाउने क्रममा मासिएका वनजंगल फेरी रोप्नका लागि पनि ठूलो ठाउँ रहेको उनले बताए । सरकार यसरी नै चुप लागेर बसे यो ठाउँ सुकुम्बासीले मिचेर सखाप पार्ने उनले बताए ।
‘विमानस्थल बनाउन जति ढिला भयो त्यती नै समस्याहरु उत्पन्न हुँदै जान्छन् । अहिले खाली ठाउँ छ, केही समयपछि सुकुम्बासी बस्न बेर छैन, फेरी तिनलाई हटाउन मुआब्जा, क्षतीपुर्तीको कारण अर्को समस्या आउँछ,’ देउजाले भने ।

वातावारण तथा वनकर्मी रिपु महर्जनले पछिल्लो समय हरेक निर्माणमा वातावरणका कुराले अवरोध ल्याउँदा वातावरण कर्मी विकासको विरोधी भए जस्तो देखिएको बताए ।
उनले निजगढ विमानस्थलको सन्दर्भमा वातावरण क्षेत्रका मानिसहरु विकासको विरोधीको रुपमा देखिन थालेको उनले बताए । केही कमीकमजोरीका कारण वातावरण कर्मीमा प्रश्न उठ्ने गरेको भएपनि निजगढ विमानस्थलको बिकल्प अन्यत्र नभएको उनले बताए । ‘यसलाई जसरी पनि बनाउनु पर्छ । केही साना तिना कुराले बाटो छेक्नु भन्दा समस्याको समाधान खोजेर कामलाई निरन्तरता दिनु राम्रो हुन्छ,’ महर्जनले भने ।
अर्थविद डा. गोविन्द बहादुर थापा यो विषय २०५१ को बजेटमा उल्लेख भएको बताउँछन् । त्यस अनुसार निजगढ विमानस्थल निर्माण प्रक्रियाको अनौपचारिक शुरुवात भएको निर्माण २५ वर्ष भइसकेको छ । ‘यस बीचमा काम नहुँदा हामीले समस्या भोगेकै छौँ । जहाजबाट ओरदोहोर गर्नेले त्यस्ता समस्या भोगेका छन्,’ थापाले भने ।
दोस्रो अन्तराष्ट्रिय विमनस्थल चाहिने अनुभुती सबैलाई भएको छ र यो कहाँ बनाउनु उपयुक्त हुन्छ भन्ने पनि सबैले बुझेको उनले बताए । निजगढ मुख्य गरी राजधानीको नजिक रहेको र जग्गा पनि उपलब्ध भएका कारण निजगढ नै उपयुक्त स्थान रहेको उनले बताए । उनले नेपाल भुपरिवेष्ठित मुलुक भएकाले पानी जहाजबाट सामानहरु ढुवानी गर्न नसकिने हुँदा ठूला कार्गो जहाजहरु राख्ने ठाउँ नहुँदा त्यसका लागि पनि निजगढ विमानस्थल आवश्यक रहेको दाबी गरे ।
‘भएको विमानस्थलमा जति गर्न सकिने हो हामीले गरिरहेका छौँ । त्यसैले गर्दा न्युनतम पूर्वाधारका बावजुद त्रिभुवन विमानस्थल अन्तराष्ट्रिय विमानस्थलको रुपमा सञ्चालन हुन सकेको छ,’ उनले भने ।
बाराका सांसद राम शाह यादव निजगढ विमानस्थल निर्माणका क्रममा इआईएका (पर्यावरणीय प्रभाव मुल्याङ्कन) अनुसार २५ लाख रुख कटान गर्नुपर्ने बताउँछन् । त्यो हेर्दा यदि २५ लाख रुख काटिएमा एउटा रुख बराबर २५ रुख रोप्नु पर्ने र यो रुख रोप्ने ठाउँ खोजेर यसलाई अघि बढाउन सकिने उनले बताए । रुख काट्दा स्वाभाविक रुपमा वातावरणलाई असर पर्ने भएतापनि त्यसको न्युनिकरण गर्दै काम अगाडी बढाउन सकिने उनले बताए ।
अर्थशास्त्री शंकर शर्मा निजगढ विमानस्थल निर्माण पछि ३ खण्ड बढिको पर्यटकिय विकास हुने बताउँछन् । नेपालमा कुल ग्राहस्थ उत्पादनमा हाम्रो पर्यटनको ३ प्रतिशत भन्दा कम योगदान छ । विमानस्थलले यसलाई बढाएर ९ प्रतिशतसम्म पुर्याउने उनले बताए । विमानस्थल निर्माणसँगै त्यस क्षेत्रको विकास हुने र त्यससँगै सहर पनि विकास हुँदै जाने उनले बताए ।
अर्थविद सुदर्शन उप्रेती निजगढ विमानस्थल निर्माणसँग हाम्रो आर्थिक वृद्धिको ‘लाइफलाइन’ जोडिएको बताउँछन् । निजगढ विमानस्थल पूर्ण रुपमा सञ्चालन भयो भने यसले जीडीपीमा ५ देखि ८ प्रतिशतसम्म योगदान पुर्याउने उनले बताए । निजगढ विमानस्थलले देशको विकासको क्रमलाई दोब्बर रुपले बढाउन सहयोग पुर्याउने उनको दाबी छ ।
‘२५ वर्षदेखि सुरु भएको अहिले २६ वर्ष लाग्न लागि सक्यो । हामीलाई देशको मुहार फेर्ने आयोजना चाहिन्छ, त्यसमा निजगढ विमानस्थल एक नम्बरमा पर्छ,’ उप्रेतीले भने । उनले जुनसुकै विकासकाे काममा वातावरणीय प्रभाव पर्ने भएकाले त्यो प्रभाव सकेसम्म कम हुने तरिकाले त्यसको केही विकल्प खोज्दै अघि बढ्नु पर्ने बताए ।
नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजन पोख्रेल नेपालमा एक मात्र अन्तराष्ट्रिय विमानस्थल भएको र यसमा पनि बढि दुर्घटनाको संभावना भएकाले त्यसको विकल्पका रुपमा निजगढ विमानस्थल बनाउन सुरु गरिएको बताउँछन् । ‘निजगढमा जिरो भिजिबिलिटिमा पनि ल्यान्ड गर्न सकिन्छ’, उनी भन्छन् ।
‘भएको विमानस्थलमा जति गर्न सकिने हो हामीले गरिरहेका छौँ । त्यसैले गर्दा न्युनतम पूर्वाधारका बावजुद त्रिभुवन विमानस्थल अन्तराष्ट्रिय विमानस्थलको रुपमा सञ्चालन हुन सकेको छ,’ उनले भने ।
हवाई ट्राफिकको समस्या नेपालमा धेरै भएकाले त्यो समस्याको समाधानका लागि पनि निजगढ विमानस्थल बन्नु पर्ने उनले बताए ।
‘नेपालमा ठूला कार्गो विमान आउने अवस्था छैन, अहिलेसम्म आएका पनि छैनन्, त्यो भनेको हामीसँग विमान ल्याण्डीङको ठाउँ नभएरै हो, त्यसको लागि पनि निजगढ विमानस्थलको आवश्यकता परेको हो,’ पोख्रेलले भने ।