तथ्यांकमा बैंकको ‘बेस रेट’ र नेप्सेको सम्बन्धः के यो सेयर बजार बढ्ने संकेत हो

काठमाडौं । निजी क्षेत्रद्धारा संचालित नेपालको अग्रणी बैंक नबिलले सजिलो ‘एक्सप्रेस’ कर्जा योजना ल्याएको छ । बैंकले १०.५ प्रतिशत ब्याजदरमा १ वर्षसम्म ब्याजदर परिर्वतन नहुने गरि योजना अघि सारेको हो । साथै, बैंकले उक्त योजना अन्तर्गत ऋणका लागि आवेदन दिएको ३५ घण्टामै पैसा उपलब्ध गरोने जनाएको छ ।

 

नबिल मुलभुत रुपमा कर्पोरेट ग्राहक केन्द्रित बैंक हो । यस्तो बैंकले यस्तो स्किम ल्याउनुको प्रष्ट संकेत के हो भने बजारमा तरलताको समस्या छैन । नेपालको वित्तिय क्षेत्र बिगत २–३ वर्ष यता चरम तरलता अभावको चपेटामा फसेको थियो । र, यसको प्रभाव सेयर बजारमा पनि देखिनै रहेको छ ।

 

तर, यो वर्ष भने तरलता केही खकुलो भएको संकेत नेपालको वित्तीय क्षेत्रले देखाएको छ । यसको प्रतिबिम्ब नेपालका बाणिज्य बैंकहरुको औसत ‘बेस रेट’मा पनि प्रतिबिम्बित भएको छ । बैंकहरुको औसत बेस रेट केही महिना यता बिस्तारै घट्दै गएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

 

बेस रेट भन्नाले बैंकहरुले कर्जा प्रवाह गर्दा असुल गर्ने न्युनतम ब्याजदर हो । यो बैंकहरुको निक्षेप लागतमा भर पर्ने दर हो । बैंकहरुको बेस रेटमा थप केही प्रतिशन जोडेर कर्जा लगानी गर्ने गर्दछन् । यो दर बैंक नै पिच्छे फरक फरक हुन्छ । समग्रमा भन्दा बेस रेटले बैंकहरुको कर्जाको ब्याजदर संकेत गर्दछ । बेस रेट धेरै हुनु भनेको कर्जाको ब्याजदर धेरै हुनु हो र यो कम हुनुको अर्थ कर्जाको ब्याजदर पनि कम हुनु हो ।

 

तरलता खुकुलो भएसँगै बैंकहरुको निक्षेप लागत घटेका कारण बेस रेट पनि घट्न थालेको देखिन्छ, पछिल्ला केही महिना यता । यसको अर्थ अब बैंकहरुले कर्जाको ब्याजदर पनि बिस्तारै घटाउँदै जानेछन् भन्ने हो । यो सेयर बजारको लागि शुभ संकेत पनि हो । करिब १ वर्षअघि १० प्रतिशत भन्दा बढि रहेको बैंकहरुको औसत बेस रेट अहिले बिस्तारै घट्दै ९.५ प्रतिशतमा आइसकेको छ ।

 

उच्च ब्याजदरको मारमा लामो समयदेखि थलिएको सेयर बजार घट्दो ब्याजदरसँगै उकालो लाग्ने संकेत पनि देखाउन थालेको देखिन्छ ।

 

ब्याजदर र सेयर बजारका बीच जहिल्यै पनि नकारात्मक सम्बन्ध हुन्छ । अर्थात, ब्याजदर बढ्दा सेयर बजार घट्छ भने ब्याजदर घट्दा सेयर बजार बढ्छ ।

 

बिगतका तथ्याङ्कले पनि यसको पुष्टि नै गर्दछन् । नेपाली सेयर बजारले अहिलेसम्म चुमेको उच्च बिन्दु भनेको १८८१ को बिन्दु हो । त्यो समयमा बैंकहरुको औसत बेस रेट ६.२७ प्रतिशत थियो । अर्थात, बैंकहरुले निकै कम ब्याजदरमा कर्जा प्रवाह गरिरहेका थिए ।

 

ब्याजदर कम भएका बेला अर्थतन्त्र चलायमान हुन्छ । मानिसहरुका लागि ऋण लिएर लगानी गर्नु फाइदाजनक हुन्छ । त्यसो हुँदा सेयरको माग बढ्छ र अन्तत सेयर बजार बढ्छ ।

‘सेयर बजारले उच्चतम बिन्दु चुमेका समयमा तरलता यति सजिलो र कर्जाको दर यति कम थियो कि जो कोहीले पनि सहजै ऋण लिएर सेयरमा लगानी गर्ने अवस्था थियो । बैंकहरु ब्रोकरको कार्यालयमा नै ऋण लिने मानिसहरु खोज्दै आउँथे’, एक लगानीकर्ताले आफ्नो अनुभव सुनाए ।

 

बेस रेट र नेप्से परिसूचक बीचको सम्बन्ध माथिका दुई चार्टले पनि प्रष्ट पार्दछन् । यी चार्टहरुमा सन् २०१३ को मध्य देखिका बेस रेट र नेप्से परिसूचकहरु समावेश गरिएका छन् । यहाँ प्रष्ट देखिने तथ्य के हो भने नेप्से बढेका बखत बेस रेट घटेको देखिन्छ । र, नेप्से घटेका बेला बेस रेट बढेको देखिन्छ ।

 

सन् २०१८ को जुलाई महिनामा बैंकहरुको औसत बेस रेट बढेको अवस्थामा नेप्से न्युनतम बिन्दुमा देखिन्छ । बेस रेट बढेका बेला कर्जाको ब्याजदर बढ्ने हुँदा लगानीकर्ताहरुलाई ऋण लिएर सेयर बजारमा पस्नु फाइदाजनक हुँदैन र सेयरको माग घट्ने हुँदा सेयर बजार बढ्ने संभावना हुँदैन । साथै, त्यस्तो समयमा निक्षेपमा नै ब्याज धेरै आउने हुँदा अन्य क्षेत्रमा लगानी गर्नुपर्ने अवस्था नै हुँदैन ।

 

ब्याजदरका अलावा सेयर बजारलाई प्रभावित पार्ने सैयौं कारणहरु होलान् । तर, ब्याजदर एकदमै महत्वपूर्ण र प्रमुख कारण भने हुँदैहो । यो तथ्यको पुष्टि यी दुई चार्टहरुले पनि गरेकै छन् ।

 

अब यो दृष्टिकोणले बिस्तारै घट्दै जान थालेको बेस रेटले सेयर बजारमा प्रवेश गर्ने उपयुक्त समय पनि आउन थालेको हो की भन्ने संकेत भने पक्कै पनि गरेकै छ ।

टार्गेट पूरा गर्ने १५ व्यावसायीक साझेदारलाई आइएमईले बाकु भ्रमणमा पठायो Read Previous

टार्गेट पूरा गर्ने १५ व्यावसायीक साझेदारलाई आइएमईले बाकु भ्रमणमा पठायो

ओली र मोदीका समानता: दम्भ ठूलो, उपलब्धी पुड्को Read Next

ओली र मोदीका समानता: दम्भ ठूलो, उपलब्धी पुड्को