काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रम सम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । महासंघ सचिवालय, टेकु काठमाडौंमा बसेको बैठकमा उक्त सहमति भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिक सम्बन्ध सुधार हुँदै गएको बताए । ढकालले भविष्यमा आउन सक्ने कुनै पनि चुनौती समाधान गर्न रोजगारदाता र श्रमिक बीच सहकार्य र समन्वय हुनुपर्ने बताए ।
जेटीयूसीसीका अध्यक्ष योगेन्द्र कुंवरले गत मंसीरमा भएको समझदारीपत्र समिक्षा गर्नका साथै आगामी दिनहरूमा आउनसक्ने चुनौतीहरूको दुईपक्ष रूपमा न्यूनीकरणका उपायहरू पहिचान गर्दै जाने, सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पर्दै जानु पर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाइ वढाउदै जान पर्ने जरुरी रहेको बताए ।
यस्तै, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि बचाउने र श्रम बजारलाई पनि व्यवस्थित गर्दै अगाडी बढने दृष्टिकोण स्थापित गर्न जरुरी रहेको बताए ।
द्धिपक्षिय समझदारी गरिएको बिषयलाई सम्झना गर्दै त्यस समझदारीमा उल्लेख गरिएका कार्यक्रमहरूलाई दुईपक्ष रुपममा कार्यसमिति निर्माण गरी अगाडि बढन जरुरी रहेको बताए ।
महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति ज्योत्सना श्रेष्ठले गत मंसिरमा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने र दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्व लगायतका आधारमा न्यूनतम पारिश्रमिक निर्क्योल गरिनु पर्ने विषयमा छलफल बैठक आयोजना हुन पर्ने कुरालाई जोड दिइन् ।
साथै, दुईपक्षिय रूपमा समाधान हुनसक्ने कुनै पनि समस्याहरू सरकारमा जानु भन्दा अगाडि दुई पक्षका बीच छलफल हुनका साथै अन्तरास्ट्रिय अभिसन्धीहरू पास गर्ने सम्बन्धमा द्धिपक्षीय छलफल जरुरी रहेको विषयलाई जोड दिइएको थियो ।