साँगा-धुलिखेल सडक विस्तारमा ८ सम्पदाको व्यवस्थापनमा कठिनाइ

अरनिको राजमार्ग अन्तर्गत विस्तारको क्रममा रहेको सूर्यविनायक–धुलिखेल सडकको नलिनचोकखण्ड ।

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको सिमास्थल साँगादेखि धुलिखेलसम्म सडक विस्तार वर्षा र स्थानीयको अवरोधले केही सुस्ताएको छ । आयोजनालाई हाल यस ८.४ किमी सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएको जनाइएको छ ।

साँगा-धुलिखेल सडकखण्डमा पोखरी, मन्दिर, कुवा, नासिका मन्दिर र ढुङ्गेधारा रहेको आयोजनाको विवरण उल्लेख छ । यस्तै भैँसेपाटीमा दुई कुवा, ढङ्गेधारा तथा जनागालस्थित पिपलबोटमा गणेश मन्दिर ऐतिहासिक सम्पदाको सूचीमा परेका हुन् ।

यीमध्ये गणेश मन्दिर स्थानीयले अन्यत्र स्थानान्तरण गरिसकेका छन् । आयोजनालाई अब सात स्थानमा रहेका आठ सम्पदाको संरक्षण, व्यवस्थापन एवं स्थानान्तरण गर्नेगरी बनाइएको वैकल्पिक ‘डिजाइन’का विषयमा स्थानीय जनप्रतिनिधि एवं अगुवासँग छलफल थालिने गर्ने जनाइएको छ ।

‘हामी साँगा–धुलिखेल सडकखण्डमा सम्पदा व्यवस्थापन एवं स्थानान्तरण गर्न स्थानीयस्तरमा छलफल थालेका छौँ, आयोजनाले छलफलकै आधारमा उपयुक्त विकल्पमा जानेछ,’ आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले भने ।

आयोजनाले साँगामा रहेको ऐतिहासिक पोखरीलाई नासिका भगवती मन्दिरनजिक वा उपयुक्त स्थानमा स्थानान्तरणको प्रस्ताव गरेको छ भने मन्दिर र कुवालाई पनि सोही मन्दिर आसपास स्थानान्तरण गर्न सकिने जनाएको छ ।

यस्तै नासिका मन्दिरको वरिपरीको वाल संरक्षण गरी एकतर्फी सडक निर्माण गर्ने वा नगर्नेबारे अनिर्णित भएको छ । स्थानीयले भने नासिका मन्दिरको ऐतिहासिकता महत्वपूर्ण भएकाले सोही स्थानमा संरक्षणका लागि सुझाव दिएको आयोजनाका इञ्जिनियर विष्णुप्रसाद खनालले बताए ।

लामिछानेकाअनुसार साँगाको ढुङ्गेधारा केही पर सारी पानी ट्याङ्कीसहितको निर्माण गर्न आयोजनाले प्रस्ताव गरेको छ । यस्तै भैँसेपाटीमै रहेका दुई कुवालाई दाँहिनेतिर इन्टेक निर्माण गरी ट्याङ्कीसहितको ढुङ्गेधारा निर्माणको प्रस्ताव हो । स्थानीयले साँगामा हरेक वर्ष मनाउँदै आएको बिस्केट जात्राका लागि प्रयोग हुने स्थान, पोखरी तथा मन्दिर, धारा र कुवाको विशेष संरक्षणका लागि आयोजनाले सहयोग गर्नुपर्ने बताउँदै आएका हुन् ।

सडक विभागका अनुसार विस्तारित सूर्यविनायकदेखि धुलिखेलसम्म कुल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेलम्म ८.४ किमी सडकखण्ड विस्तारका लागि ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो । विसं २०७९ फागुन १६ गतेबाट निर्माण थालिएको आयोजनाको अवधि ३६ महिना हो । हालसम्म २१ महिनाको अवधिमा आयोजनाको काम २८ प्रतिशत मात्रै पूरा भएको जनाइएको छ । यसमध्ये पूर्वाधार निर्माणमा ८८ प्रतिशत प्रगति भएको आयोजनाले जनायो ।

यसैबीच वर्षाका कारण र बनेपा बजार क्षेत्रको केही स्थानमा अवरोधका कारण निर्माण रोकिएको छ । आयोजनाका अनुसार हालसम्म १२.०५ किलोमिटर टेवा पर्खाल निर्माण गरिएको छ भने २९ मध्ये १९ कल्र्भट निर्माणको काम सकिएको छ । यस्तै १२.०८ किमी नाली निर्माण सकिएको छ । यस सडकखण्डमा आयोजनाको वित्तीय प्रगति ३०.९१ प्रतिशत भएको छ ।

दुई लेन रहेको अरनिको राजमार्गको यस सडकखण्डलाई ६ लेनका लागि विस्तारकार्य भइरहेको हो । सडक दायाँबाँया दुई सर्भिस लेन तथा २.५ मिटरको फुटपाथ निर्माण हुनेछ ।

नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर सूचीकृत

ताँदी घ्याङफेदी हाइड्रोपावरको पीपीए सम्पन्न, असोजदेखि निर्माण थालिँदै Read Next

ताँदी घ्याङफेदी हाइड्रोपावरको पीपीए सम्पन्न, असोजदेखि निर्माण थालिँदै