ऋण तिर्न ऋण लिँदै सरकार, साउनमा मात्रै लियो साढे ४३ अर्ब

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन)मा साढे ४३ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आवको साउनमा सरकारले कुल ४३ अर्ब ५९ करोड २० लाख रुपैयाँ सार्वजनिक ऋण लिएको हो ।

सरकारले साउनमा ४० अर्ब आन्तरिक र ३ अर्ब ५९ करोड २० लाख रुपैयाँ वैदेशिक ऋण लिएको हो । यससँगै साउनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३.३४ प्रतिशत हो । यसमध्ये आन्तरिक ऋण जीडीपीको २१ र बाह्य २२ प्रतिशत छ । राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्षमा देशको जीडीपी ५७ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।

साउनसम्म तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ४९ प्रतितश (१२ खर्ब ३ अर्ब रुपैयाँ) र बाह्य ऋण ५१ प्रतिशत (१२ खर्ब ६८ अर्ब रुपैयाँ) रहेको छ ।

पछिल्लो १३ महिनामै सार्वजनिक ऋण १ खर्ब ७२ अर्ब रुपैयाँले बढेको कार्यालयको तथ्यांक छ । २०८० असार मसान्तमा २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ रहेको सरकारी ऋण २०८१ असार आइपुग्दा बढेर २४ खर्ब ३१ अर्ब पुगेको थियो ।

हाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा करिब ८३ हजार रुपैयाँ बराबर पर्न आउँछ ।

निरन्तर बढ्दो सार्वजनिक ऋणले जोखिम निम्त्याउने संकेत देखिएको अर्थविद् बताउँछन् । राजस्व संकलन वृद्धि नहुँदा सरकारको दैनिक खर्च (तलब, भत्ता लगायत) धान्न नै ऋण लिइरहनु परेको छ । ऋण लिएर पूर्वाधार निर्माणमा खर्च गर्ने हो भने डराउन नपर्ने, तर दैनिक खर्च धान्न खर्च गर्ने हो भने यसले ठूलो जोखिम निम्त्याउने उनीहरूको भनाइ छ ।

गत आर्थिक वर्षदेखि सरकारको विकास खर्चभन्दा ऋणको साँवा-ब्याज तिर्न धेरै रकम खर्चिनु पर्ने अवस्था आएको छ । वर्षेनी सार्वजनिक ऋण बढ्दै जाँदा सरकारलाई भार थपिँदै गएको हो । बढ्दो ऋण दायित्वले वित्तीय असन्तुलनको खतरा हुने जानकारको धारणा छ ।

चालु आवमा सरकारले कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएको छ । यस्तै, सरकारले चालु आवमा ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ ऋणको साँवा र ब्याज तिर्नुपर्नेछ ।

ऋण तिर्न ऋण लिँदै सरकार

सरकारले ऋण तिर्न ऋण लिनु पर्ने अवस्था आएको छ । साउनमा उठाएको आधा बढी ऋण यसअघि लिइएको ऋण तिर्न खर्च गरेको छ ।

साउनमा सरकारले साढे ४३ अर्ब रुपैयाँ ऋण उठाउँदा २३ अर्ब १८ करोड ९९ लाख रुपैयाँ ऋण तिर्न खर्च गरेको छ ।

साउनमा सरकारले २० अर्ब ६० करोड आन्तरिक ऋण ९साँवा–ब्याज० तिरेको छ भने २ अर्ब ५८ करोड विदेशी ऋणको साँवा ब्याज तिरेको छ ।

थामिएन सेयर बजारकाे पहिरो, नेप्से परिसूचक २७०० बिन्दु तल झर्याे Read Previous

थामिएन सेयर बजारकाे पहिरो, नेप्से परिसूचक २७०० बिन्दु तल झर्याे

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, तीन विमानस्थल बन्द Read Next

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, तीन विमानस्थल बन्द