घट्यो पेट्रोलियम पद्धार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको निगमले जनाएको छ ।

निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः १६०.५०, १६२ र १६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः १५१.५०, १५३ र १५४ रुपैयाँ तोकेको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर १३२ रुपैयाँ कायम गरिएको छ भने अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार ५ तोकिएको छ ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई सूचीकृत गरेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएकाले स्थानीय बजारमा पनि समायोजन गरिएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । एलपी ग्यासको खरिद मूल्यमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई बिक्री मूल्य यथावत् नै राखिएको निगमले जनाएको छ ।

ठेक्का तोड्ने चेतावनीपछि काममा फर्कियो नारायणगढ-बुटवल सडकको ठेकेदार Read Previous

ठेक्का तोड्ने चेतावनीपछि काममा फर्कियो नारायणगढ-बुटवल सडकको ठेकेदार

गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने ४४ व्यापारी विरुद्ध मुद्दा Read Next

गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने ४४ व्यापारी विरुद्ध मुद्दा