कर्णालीका ७३ प्रतिशत क्षेत्र अँध्यारोमा, ३ वर्षभित्र सबै जिल्लामा बिजुली पुर्‍याइने

काठमाडौं । आर्थिक विकासमा समेत पछाडि परेको कर्णाली प्रदेशलाई केन्द्रमा राखेर सरकारले आगामी तीन वर्षभित्र केन्द्रीय विद्युत् प्रसारण प्रणाली पुर्याउने भएको छ ।

 

आर्थिक समृद्धिका लागि ऊर्जा नै प्रमुख आधारका रुपमा रहेको र गरिबीको मात्रासमेत उच्च रहेको सो प्रदेशमा विद्युतीकरणका लागि प्रमुख प्राथमिकतामा राखी नेपाल विद्युत् प्राधिरकणले आफ्ना नीति तथा कार्यक्रमलाई अगाडि बढाएको छ ।

 

सो प्रदेशका १० जिल्लामा प्राधिकरणमार्फत २७.२९ प्रतिशत क्षेत्रमा मात्रै विद्युतीकरण भएको छ । त्यसमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गरेको विद्युतीकरणको तथ्याङ्क समेटिएको छैन ।

 

सो प्रदेशमा प्राधिकरणका ग्राहक सङ्ख्या ८५ हजार मात्रै छ । सबैभन्दा बढी सुर्खेतमा ५८ र कम जाजरकोटमा पाँच प्रतिशत मात्रै विद्युतीकरण भएको छ । भौगोलिक कठिनाइ तथा विकटताले गर्दा यस प्रदेशमा विद्युतीकरण चुनौतीपूर्ण छ । सो प्रदेशमा १० वितरण केन्द्रहरु रहेका छन् ।

 

चालू आवमा सो प्रदेशमा विद्युतीकरणका लागि एक अर्ब १९ करोड बजेट विनियोजन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। कर्णाली प्रदेशमा विद्युतीकरणका लागि ३३ र ११ केभीका १२ वटा आयोजना हाल सञ्चालनमा छन् भने सात वटा ३३÷११ केभीका सवस्टेशन निर्माणका लागि ठेक्का आह्वान गर्ने प्रक्रियामा पुगेको छ ।

 

प्राधिकरणले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम, जाजरकोटमा राष्ट्रिय प्रसारण प्रणालीमार्फत (ग्रीड) र कालीकोट, हुम्ला, मुगु, डोल्पा र जुम्लामा लघु जलविद्युत् (माइक्रोहाइड्रो) मार्फत विद्युत् आपूर्ति गरिरहेको छ ।

 

कूल ३३ र ११ केभी क्षमताका प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति भइरहेकाले ट्रिपिङ हुँदा लाइन जाने समस्या पनि उस्तै रहेको छ । बाँकेको कोहलपुर र दाङको तुलसीपुरबाट यस प्रदेशमा विद्युत् आपूर्तिका लागि प्रसारणलाइन तानिएको छ । कोहलपुर-सुर्खेत १३२ प्रसारणलाइन र सुर्खेतमा १३२/३३/११ केभी सवस्टेशन निर्माण प्रक्रिया अगाडि बढेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

 

कर्णाली प्रादेशिक कार्यालय र मातहतका वितरण केन्द्र प्रमुखसँग प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग मातहतका अधिकारीले कार्यसम्पादन करार सम्झौतासमेत गरेका छन् । उक्त सम्झौतामा तीन वर्षभित्रमा शतप्रतिशत विद्युतीकरण गर्ने विषयसमेत समेटिएको छ ।

 

“कर्णाली प्रदेशमा विद्युतीकरण गर्न अझै करीब ७३ प्रतिशत बाँकी छ, विद्युतीकरण पहिलो प्राथमिकता भएकाले आफ्नो क्षेत्रमा जतिसक्दो छिट्टो त्यसतर्फ लाग्नुपर्छ भन्ने हाम्रो ठहर छ । त्यसका लागि बजेट अभाव हुन दिँदैनौँ,” कार्यकारी निर्देशक घिसिङले भने ।

 

लामो प्रसारण लाइन भएकाले पटकपटक ट्रिपिङ हुने र लाइन गएपछि आउन धेरै समय लाग्ने समस्या छ, लाइनलाई चाँडो चलाउने गरी काम गर्नुपर्ने उनको भनाइ छ ।

 

युरोपेली लगानी बैंक र एशियाली पूर्वाधार लगानी बैंक (एएआइबी) ले सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ को विद्युतीकरणका लागि करीब २२ अर्ब सहुलितपूर्ण ऋण दिएको छ । त्यससम्बन्धी जानकारी दिँदै उनले आगामी तीन वर्षभित्रमा सबैको घरमा स्वच्छ ऊर्जा पुर्याउने सरकारको घोषणा कार्यान्वयन गर्न बजेट अभाव नहुने स्पष्ट पारे।

 

सरकारले तीन वर्षभित्र शतप्रतिशत विद्युतीकरण गर्ने र पाँच वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत सात सय युनिट पुर्याउने घोषणा गरेको छ । प्राधिकरणले प्रादेशिक कार्यालय सुर्खेतलाई गत आव २०७५/७६मा १९.९० प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर चालू आवमा १४.५७ प्रतिशतमा झार्ने लक्ष्य दिएको छ ।

 

चालू आवको पहिलो चार महिनामा कार्यालयको औसत विद्युत् चुहावट १३.०९ प्रतिशत छ । कार्यसम्पादन सम्झौतामा विद्युत् चुहावट नियन्त्रण, राजश्व संकलन र ग्राहकसँगको सेवा प्रवाह सुधारलाई मुख्य रुपमा जोड दिइएको छ । प्राधिकरण व्यवस्थापनले यसअघि प्रदेश नं १, २, ३, गण्डकी प्रादेशिक र प्रदेश ३ को डिभिजन कार्यालय हेटौँडाका कार्यालयका प्रमुख र मातहतका वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिसकेको छ । रासस

हजारभन्दा बढी लगानीकर्ताको लगानीमा बन्ने सेतीखोला जलविद्युत्को ठेक्का सम्झौता Read Previous

हजारभन्दा बढी लगानीकर्ताको लगानीमा बन्ने सेतीखोला जलविद्युत्को ठेक्का सम्झौता

सनराइज बैंकको मास्टरकार्डसँग सहकार्य Read Next

सनराइज बैंकको मास्टरकार्डसँग सहकार्य