काठमाडौं । नेपाल सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहेका अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको हो ।
सरकारले निजामती सेवाका सचिवमध्ये वरीयताक्रममा चौथो नम्बरमा रहेका अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
सचिवमा सबैभन्दा वरिष्ठ राष्ट्रिय योजना आयोगका तोयनारायण ज्ञवाली, दोस्रोमा सार्वजनिक खरिद अनुगमन कार्यालयका रामकृष्ण सुवेदी र तेस्रोमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका दिनेश भट्टराई थिए । हालकी मुख्य सचिव लीलादेवी गड्तौला उमेर हदका कारण आजदेखि अनिवार्य अवकाशमा जाँदै छिन् ।
२०२४ मंसिर १० मा जन्मिएका अर्यालले करिब १५ महिना मुख्यसचिव पद सम्हाल्नेछन् । अर्याल २०४६ माघमा नायव सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका थिए । खुला प्रतिस्पर्धाबाट २०५१ साउनमा अधिकृत बनेका उनी आन्तरिक प्रतिस्पर्धाबाट २०५८ मा उपसचिव र २०६७ मा सहसचिव भएका थिए । सचिवमा भने उनी २०७६ फागुनमा बढुवा भएका थिए ।