काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमलाई ए ३२० उडान विशिष्टिकरण मापदण्ड ‘क्याटोगरी’ दुई प्रमाणीकरण तथा ‘ए ३२० रिडुज्य नेभिगेसन पर्फरमेन्स अथोराइज्ड रिक्वायर्ड अपरेशन’ को अन्तिम ‘अथोराइजेसन’ अर्थात यससम्बन्धी अधिकार प्रदान गरेको छ ।
उक्त अधिकार पाएसँगै निगमको उडान आधुनिकीकरण योजनालाई सघाउने र उडान सुरक्षालाई थप गुणस्तर बनाउन मद्दत पुग्ने निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।
“नेपाल वायुसेवा निगमद्वारा सञ्चालित ए ३२० र ए ३३० को रिडुज्ड भर्टिकल सेपेरसन मिनिमा तथा इलेक्ट्रिक फ्लाइट ब्याग नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भइसकेको छ”, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हालै ए ३२० को अपरेसन्स स्पेसिफिकेशनमा स्टाण्डर्ड क्याटोगोरी दुई एप्रोभल तथा ए ३२० रिडुज्ड नेभिगेशन पर्फमेन्श–एथोराईजेशन रिक्वायर्ड अपरेसन्सको इन्ट्रिम एथोराइजेशन पनि निगमलाई प्राप्त भएको छ ।”
साधारणतया विमान इन्ट्रमेन्ट ल्याण्डिङ्ग सिस्टम क्याटोगोरीमा अवतरण गर्ने गर्दछन् । यसअनुसार जहाज अवतरण गर्नका लागि पाइलटले कम्तीमा २०० फिट माथि ग्राउण्ड लेभलमा ल्याण्ड गर्ने वा ‘गो एराउण्ड’ गर्ने निर्णय लिनुपर्ने हुन्छ र सोही अप्रोन गर्न ५५० मिटर भिजिबिलिटिको आवश्यकता पर्दछ । तर क्याट दुई अथोराइजेसन प्राप्त गरेपछि निर्णय गर्ने उचाइ १०० फिटमा घट्ने निगमले जनाएको छ ।
निगमका सह–प्रवक्ता मिश्रले यसले उडानको १०० फिट उचाइ तथा कम भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न सक्ने क्षमता हुने बताए। माथि उल्लिखित प्राधिकरणको स्वीकृति हालसालै प्राप्त भएकाले काठमाडौँका हकमा आरएनपी–एआर तथा अन्य अन्तरराष्ट्रिय उडानमा क्याट दुई आइएलएसको उपयोग गर्दै निगमका उडान अझै बढी नियमित तथा समयमा नै सञ्चालन हुने बताइएको छ ।
खराब मौसमको प्रभावबाट हुन सक्ने उडान रद्द, होल्डिङ र डाइभर्सन जस्ता अप्ठयारा न्यूनीकरण हुनेछन् ।यसैगरी निगमको ए ३३० जहाजको क्याट दुई तथा आरएनपी-एआर एप्रोभल पनि प्राधिकरणबाट स्वीकृति प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।
यस प्रक्रिया निकट भविष्यमा नै सम्पन्न गरी ए ३३० जहाजको उडानलाई समेत अझै नियमित र प्रभावकारी रुपमा सञ्चालन गर्ने योजनाअनुसार काम भइरहेको निगमले जनाएको छ ।रासस