काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तका ऋणीहरुलाई राहत दिएको छ । राष्ट्र बैंकले मंगलबार एक सर्कुलर जारी गर्दै समस्यामा परेर कर्जा तिर्न नसकेका ऋणीलाई कर्जा भुक्तानी अवधि ३ वर्ष थप गरी पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको हो ।
यसअघि यस्तो ऋणको पुनर्तालिकीकरणको अवधि १ वर्ष मात्रै थियो । लघुवित्तका ऋणीले कर्जा भुक्तानी अवधि थप गर्न भने आगामी पुस मसान्तभित्र कर्जा पुनर्तालिकीकरण गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
यस्तो कर्जालाई ५ प्रतिशत कर्जा नोक्सानीको व्यवस्था गर्नुपर्नेछ । तर निष्क्रिय वर्गमा वर्गीकरण भैसकेका कर्जाहरुलाई पुनर्संरचना वा पुनर्तालिकीकरण गर्दा पूर्ववत कायम गरिएको कर्जा नोक्सानी व्यवस्था कायम राख्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
यसरी कायम गरिएको कर्जा नोक्सानी व्यवस्था लगातार एक वर्षसम्म कर्जा नियमित भएको अवस्थामा बाहेक कुनै समायोजन गर्न पाइनेछैन ।
यस्तै कर्जा, सापट तथा सुविधा रकम नतिरेको कारण कालोसूचीमा राखिएको ऋणीले कर्जा तथा सुविधाको सम्पूर्ण साँवा ब्याज भुक्तानी गरेको खण्डमा उसलाई कालोसूचीबाट हटाउन सम्बद्ध संस्थाले कर्जा सूचना केन्द्रलाई सिफारिस गर्नुपर्नेछ ।
राष्ट्र बैंकको निर्देशनको अधिनमा रही कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गरेमा समेत सम्बन्धित संस्थाले ऋणीलाई कालोसूचीबाट हटाउन कर्जा सूचना केन्द्रलाई सिफारिस गर्नुपर्नेछ ।