काठमाडौं । २०६८ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा शुरु भएको सडक विस्तार आयोजना २०७७ सालमा आएर सम्पन्न हुने भएको छ । २०६८ सालमा प्रधानमन्त्री हुँदा भट्टराईले तीनकुनेको ‘आइल्याण्ड’ भत्काएर सडक विस्तारको काम शुरु गरेका थिए । त्यसपछि सडक पेटी मिचेर निर्माण गरिएका संरचनाहरु धमाधम भत्काइन थालिए ।
यसरी विभिन्न विवादका बावजुद सुरु भएको उपत्यका सडक विस्तार योजना २०७७ मा आएर सम्पन्न हुने भएको छ ।
यस्तो छ उपत्यका विस्तारका ९ योजनाको अवस्था
चाबहिल–साँखुः सडक विस्तारमा क्रममा निकै चर्चामा आएको चाबहिल–साँखु सडक खण्ड यही वर्ष २०७६ को चैत्र मसान्तसम्ममा सम्पन्न हुने भएको छ । सो खण्डको साढे ७ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । झण्डै ५ किलोमिटरका हाराहारीमा सडक कालोपत्रे गर्न बाँकी रहेको छ ।
कुल साढे १२ किलोमिटर सो सडक यही चैत्र मसान्तसम्ममा सकिने उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजय लाल श्रेष्ठले जानकारी दिए ।
चाबहिल–साँखु सडक खण्ड निर्माण २०७१/७२ सालबाट सुरु भएको हो । सो सडक खण्ड अन्तर्गत लामा÷समान्तार जेभीले ठेक्का लिएको १ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ ।
त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकः यो सडक विस्तार अन्तर्गत सतह निर्माण सकिइसकेको आयोजनाले जनाएको छ । प्रवक्ता श्रेष्ठले यो सडकमा फिनिसिङको मात्र काम बाँकी रहेको बताए । ‘कालोपत्रे गर्न सकिइसकेको छ, अब फुटपाथ, पेन्टीङ, जेब्राक्रसिङ लगायतका पूर्वाधार बनाउने काम मात्र बाँकी छ, यो एक डेढ महिनामै सकिन्छ,’ श्रेष्ठले भने ।
११ किलोमिटर लम्बाई रहेको सो सडकमा ६ सय ८८ घर भत्काउनु पर्नेमा ३ सय ५० मात्र घर भत्काइएको छ भने बाँकी घर नभत्काई यथास्थितीमा निर्माण गरिएको छ ।
लगनखेल–सातदोबाटो सडकः यो सडकखण्ड कुल ८ सय मिटर लम्बाईको रहेको छ । सो सडक निर्माणको ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ । घर भत्काउन नदिएपछि रोकिएको सडक विस्तार अब यथास्थितिमा बन्ने भएको हो । उक्त सडक निर्माणको काम अबको १ महिनाभित्र सम्पन्न हुने श्रेष्ठले जानकारी दिए ।
सो खण्डमा भत्काउनु पर्ने अवस्थामा रहेका ५५ घर मध्ये १२ घर भत्काउन स्थानियले अवरोध गरेपछि यथास्थितिमा सडक निर्माण हुने भएको हो ।
२०७७ मा पुरा हुने योजनाहरु
इमाडोल–लामाटार सडकः ८ किलोमिटर लम्बाई रहेको सो सडक आगामी वर्षभित्र सम्पन्न हुने आयोजनाले जनाएको छ । श्रेष्ठले सो सडकखण्ड चालु आवमा सम्पन्न हुन असम्भव रहेको बताए । सो खण्डमा ५६ वटा घर भत्काउनु पर्नेमा १० वटा मात्र घर भत्काएको उनले जानकारी दिए । अब भने बाँकी घर नभत्काई यथास्थितीमै सडक विस्तार अघि बढाइने भएको छ ।
ढोलाहिटी–सरस्वती कुण्ड सडकः १२ किलोमिटर लम्बाई रहेको सो सडकखण्ड विस्तार आगामी वर्षसम्ममा सम्पन्न हुने उनले बताए । उक्त सडकखण्डमा विस्तारका क्रममा १ हजार १ सय २० घर भत्काउनु पर्ने भएको थियो । स्थानीयहरुको विरोध पछि सर्वोच्चले दिएको स्टेअडर पछि यथास्थितिमा सडक निर्माण अघि बढाइन लागेको हो । यो सडक निर्माण पुरा हुन १ वर्ष लाग्ने श्रेष्ठले बताए ।
कर्मनाशा खोला–गोदावरी कुण्ड सडकः साढे ७ किलोमिटर लम्बाई रहेको यो सडकखड सम्पन्न हुन अझै १ वर्ष लाग्ने आयोजनाले जनाएको छ । यो सडकखण्डमा हालसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । यो सडक आगामी १ वर्षमा पुरा गर्न नसके छोड्नुपर्ने अवस्था सृजना हुने श्रेष्ठले बताए । सो खण्डमा ४ सय घर भत्काउनुपर्ने भएकोमा एउटै पनि घर भत्काउन नसकिएको हो ।
जोरपाटी–सुन्दीजल सडकः ७ किलोमिटर लम्बाई यो सडक निर्माण आगामी १ वर्षमा पुरा हुने आयोजनाले जनाएको छ । सो खण्डमा ९ सय घर भत्काउनु पर्नेमा एउटै घर भत्काउन सकिएको छैन भने हाल भएकै स्थितिमा निर्माण गरिने भएको छ ।
नख्खुखोला–भैसेपाटी सडकः झण्डै ५ किलोमिटर लम्बाई रहेको सो सडकखण्ड निर्माण अबको १ वर्षमा सम्पन्न हुने भएको छ । हाल ६० प्रतिशत काम सम्पन्न भइसकेको सो सडक निर्माणका क्रममा १ सय ५२ घर भत्काउनु पर्नेमा २५ वटा मात्र घर भत्काइएको छ । अन्य घर नभत्काई सोही अवस्थामा सडक विस्तार गरिने श्रेष्ठले जानकारी दिए ।
पेप्सीकोला–सल्लाघारी सडकः साढे ४ किलोमिटर सो सडकखण्ड निर्माण पुरा हुन अझै १ वर्ष लाग्ने भएको छ । सो खण्डमा ४ सय घर भत्काउनु पर्ने भएकोमा एउटै घर नभत्काई सडक विस्तार अघि बढाइने भएको छ ।