काठमाडौं । ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन बोलपत्र आह्वान गरिएको छ ।
सर्वेक्षण अनुमति पाएको भारतीय कम्पनी एनएचपीसीले आज सार्वजनिक सूचना जारी गर्दै डीपीआरका लागि बोलपत्र आह्वान गरेको हो ।
एनएचपीसीले नेपाली कम्पनीहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको हो । इच्छुक कम्पनीले भदौ २६ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र भदौ २८ गते खोलिने एनएचपीसीले जनाएको छ ।
जलाशययुक्त ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना डोटी जिल्लामा निर्माण हुने छ । चिनियाँ कम्पनी थ्री गर्जेजसँगको सम्झौता तोडिएपछि अलपत्र पारेको पश्चिम सेती आयोजना तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले एनएचपीसी इण्डियालाई दिएको थियो ।
त्यस्तै, लगानी बोर्डले एनएचपीसीलाई २०७९ भदौमा ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र दिएको थियो ।
एनएचपीसीले २०७९ माघमा पश्चिम सेती जलविद्युत् आयोजनाको प्रारम्भिक (इन्सेप्सन) प्रतिवेदन लगानी बोर्डलाई बुझाएको थियो ।