पर्साबाट २ हजार २९१ क्युफिट अवैध काठ बरामद, २२६ जनाविरुद्ध मुद्दा दायर

वीरगञ्ज । डिभिजन वन कार्यालय पर्साले अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट २ हजार २९१ क्युफिट काठ बरामद गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० देखि २०८०/८१ सम्मको २ वर्षको अवधिमा सो परिमाणको काठ बरामद गरेको हो ।

डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिलकुमार कर्णले दुई आवमा अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट २ हजार २९१ क्युफिट काठ बरामद गरेको जानकारी दिए ।

‘‘दुई आवमा वनपैदावार तथा वन्यजन्तु चोरी सिकारी गर्ने कार्यमा संलग्न भएका २२६ जनालाई पक्राउ गरेर मुद्दा अगाडि बढाएका छौं,’ उनले भने ।

कार्यालयले अवैध ढङ्गले दाउरा चोरी तस्करी गर्नेबाट ५०० क्यूफिट बराबरको दाउरा पनि बरामद गरेको छ ।

डिभिजन वन कार्यालय पर्साले काठ दाउरा तस्करी गर्नेबाट १५ थान मोटरसाइकल पनि बरामद छ । कार्यालयले १४३ थान साइकल, ६ थान ट्याक्टर, ६ थान टायरगाडा, ४२ थान बन्चरो, २० थान काठ काट्ने आरा पनि बरामद गरेको छ ।

डिभिजन वन कार्यालयले आव २०७९/८० मा १२६ वटा वन मुद्दा दायर गरेको थियो । जसमा १२० थान वनपैदावारसँग सम्बन्धित रहेका थिए । त्यस्तै ६ वटा मुद्दा भने वन्युजन्तु चोरी सिकारीसँग सम्बन्धित रहेको थियो ।

आव २०८०/८१ मा भने कार्यालयले ४२ वटा वन पैदावरसँग सम्बन्धित मुद्दा दायर रहेको छ । कार्यालय प्रमुख कर्णले चालु आवमा वनपैदावारसँग सम्बन्धित मुद्दालाई प्राथमिकतामा राखेर फस्र्यौट गर्ने बताए । उनले भने, ‘वनपैदावरसँग सम्बन्धित मुद्दाको आवश्यक कागजात सङ्कलन गर्ने प्रक्रिया अघि बढेको छ । त्यसैले अब वन पैदावारसँग सम्बन्धित मुद्दा मुद्दा फस्र्यौटले गति लिनेछ ।’

यी हुन् भारतमा बिजुली बेच्न अनुमति पाएका थप १२ हाइड्रोपावर Read Previous

यी हुन् भारतमा बिजुली बेच्न अनुमति पाएका थप १२ हाइड्रोपावर

परराष्ट्रमन्त्री डा. राणा र भारतीय प्रधानमन्त्री मोदी बीच भेट, के-के भयो कुराकानी ? Read Next

परराष्ट्रमन्त्री डा. राणा र भारतीय प्रधानमन्त्री मोदी बीच भेट, के-के भयो कुराकानी ?