लघुवित्तको लाभांश क्षमता १८४% सम्म, यी हुन् २०% बढी दिनसक्ने २० लघुवित्त

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा लघुवित्त वित्तीय संस्थाहरूको ब्यालेन्स सिटमा उल्लेख्य सुधार आएको छ । हालसम्म गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका ४९ लघुवित्तहरूको खुद नाफा औसतमा ८१.७६ प्रतिशतले बढेको छ ।

गत असार मसान्तसम्म लघुवित्तहरूले कुल ७ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो आव २०७९८० को तुलनामा ३ अर्ब ३४ करोड धेरै हो । अघिल्लो आवमा लघुवित्तहरूले कुल ४ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।

अर्थतन्त्रमा क्रमशः आएको सुधार, घट्दो ब्याजदर, लघुवित्त विरुद्धको आन्दोलन कम हुँदै जानु, राष्ट्र बैंकले दिएको कर्जा पुनर्तालिकीकरण सुविधा लगायत कारण समग्रमा लघुवित्त व्यवसायमा सुधार आउँदा नाफा बढेको हो । अघिल्लो वर्ष लघुवित्त विरुद्ध अराजक आन्दोलन हुँदा कर्जा असुलीमा ठूलो समस्या देखिएको थियो ।

समीक्षा अवधिमा अधिकांश लघुवित्तले नाफामा सुधार आएको छ । जसमा १४ लघुवित्तले दोब्बरभन्दा धेरैले नाफा बढाउन सफल भएका छन् । यस अवधिमा एनएमबी, धौलागिरि र सामुदायिक ३ लघुवित्त भने घाटामा छन् । जबकि अघिल्लो वर्ष १ दर्जन लघुवित्त नोक्सानीमा थिए ।

समीक्षा अवधिमा लघुवित्तहरूको खारब कर्जामा पनि सुधार आएको छ । अघिल्लो वर्ष औसतमा ६.२ प्रतिशत रहेको लघुवित्तहरूको खराब कर्जा गत वर्ष घटेर ५.६६ प्रतिशतमा झरेको छ ।

खुद नाफामा सुधार आएसँगै लघुवित्तहरूको वितरण योग्य नाफामा पनि सुधार आएको छ । अघिल्लो वर्ष आधा बढी लघुवित्तले लाभांश दिन सकेका थिएनन् भने गत वर्षको नाफाबाट ३ दर्जन बढी लघुवित्तले लाभांश दिनसक्ने क्षमता बनाएका छन् । लघुवित्तहरूको औसत लाभांश क्षमता औसतमा साढे २० प्रतिशत रहेको छ ।

लघुवित्तहरूको लाभांश क्षमता १८४ प्रतिशतसम्म पुगेको छ । यद्यपि, लाभांश वितरणमा राष्ट्र बैंकको कडाइका लघुवित्तहरूले क्षमता भए जति सबै लाभांश बाँड्न सक्ने भने देखिँदैन । लघुवित्त कम्पनीहरूले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।

समीक्षा अवधिमा आधा दर्जन लघुवित्तको भने वितरण योग्य नाफा ऋणात्मक छ । उन्नति सहकार्य, हिमालयन लघुवित्त, एनएमबी लघुवित्त, अभियान लघुवित्त र ग्रामीण लघुवित्तको वितरण योग्य नाफा ऋणात्मक रहेकोले लाभांश दिन सक्दैनन् । त्यस्तै, १ दर्जन लघुवित्तको लाभांश क्षमता १० प्रतिशतभन्दा कम छ भने डेढ दर्जनको क्षमता २० प्रतिशत माथि छ ।

यी हुन् २० प्रतिशत बढी लाभांश दिनसक्ने १७ लघुवित्त

गत वर्षको नाफाबाट १९ लघुवित्तको लाभांश क्षमता २० प्रतिशत माथि रहेको छ । जसमा नेष्डो समृद्धि लघुवित्तको लाभांश क्षमता सर्वाधिक १८४.०२ प्रतिशत रहेको छ । २५ करोड ५० लाख चुक्ता पूँजी रहेको नेष्डोको वितरण योग्य नाफा ४६ करोड ९२ लाख रुपैयाँ छ ।

त्यस्तै दोस्रो सर्वाधिक लाभांश क्षमता युनिक नेपाल लघुवित्तको रहेको छ । १४ करोड ८५ लाख चुक्ता पूँजी रहेको युनिकको वितरणयोग्य नाफा १८ करोड ६५ लाख रुपैयाँ छ । यसबाट १२५.५६ प्रतिशतसम्म लाभांश दिन सक्छ ।

त्यसैगरी, गत वर्षको नाफाबाट जीवन विकास ६४.४३ प्रतिशत, छिमेक लघुवित्तको ५७.६४ प्रतिशत, साना किसानको ४५.४४, स्वाबलम्बनको ३३.११ प्रतिशत, नेसनल लघुवित्तको २९.२५ प्रतिशत, महिला लघुवित्तको २८.६१ प्रतिशत र महुली लघुवित्तको २८.०७ लाभांश क्षमता रहेको छ ।

त्यस्तै, गुराँस लघुवित्तले २५.६१ प्रतिशत, फरवार्डले २५.२५ प्रतिशत, एनआइसी एसिया २५.०७ प्रतिशत, डिप्रोक्स २४ प्रतिशत, मिथिला २४.२६ प्रतिशत, श्रृजनशील २४.९३ प्रतिशत, आशा २२.४३ प्रतिशत, सपोर्ट २२.१६ प्रतिशत, आत्मनिर्भर २०.३७ प्रतिशत, समाज २२.४५ प्रतिशत र आरम्भ चौतारीको २२.४३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता छ ।

देशभर ९८ प्रतिशत रोपाइँ सम्पन Read Previous

देशभर ९८ प्रतिशत रोपाइँ सम्पन

सुनको मूल्य एकैदिन तोलामा ३ हजार बढ्यो, फेरि बनायो नयाँ रेकर्ड Read Next

सुनको मूल्य एकैदिन तोलामा ३ हजार बढ्यो, फेरि बनायो नयाँ रेकर्ड