काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामाजिक सञ्जालमार्फत सेयर खरिद बिक्री गर्न/नगर्न उक्साउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
बोर्डले एक सूचना जारी गर्दै सञ्चारमाध्यम, फेसबुक, युट्युब, क्लबहाउसजस्ता सञ्जालमार्फत अनाधिकृत तवरले अन्तर्वार्ता तथा अभिव्यक्ति दिई बजारलाई प्रभावित पार्न खोजिएको उजुरी आएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
कानुनले नै सेयर किनबेच गर्न उक्साउन नपाइने व्यवस्था गरेको स्मरण गराएको छ । ‘धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्येक्ष वा अप्रत्येक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको छ’ बोर्डले सूचनामा भनेको छ ‘सो गरेमा धितोपत्र कारोबार सम्बन्धी कसुर गरेको मानिने व्यहोरा जानकारी गराउँछौं ।’
निश्चित सेयर खरिद तथा बिक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न, नगराउन र त्यस्ता कार्य रोक्न बोर्डले आग्रह गरेको छ । यस्ता किसिमका कामकारबाहीका सम्बन्धमा बोर्डले सूक्ष्म निगरानी गरिरहेकाले कारबाही गर्ने समेत गर्ने जनाएको छ ।
बोर्डले कसैको उक्साहटमा नलागी सुझबुझपूर्ण तवरमा लगानी गर्न अनुरोध गरेको छ ।
