भदौमा १ दर्जन बैंकले घटाए ब्याजदर, प्राइमले बढायो, कुनको कति ?

काठमाडौं । भदौ महिनाका लागि १३ वटा वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । त्यस्तै, प्राइम कमर्शियल बैंकले बढाएको छ भने ६ वटाले साउनकै ब्याजदर स्थिर राखेका छन् ।

गत आर्थिक वर्षको कात्तिकदेखि लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका बैंकहरूले भदौमा पनि थप घटाएका हुन् । बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिए पनि कर्जाको माग नबढेपछि बैंकहरूले थप ब्याजदर घटाएका हुन् ।

बैंकिङ प्रणालीमा अहिले झण्डै ७ खर्ब रुपैयाँ तरलता छ । तर, कर्जा लगानी हुन नसकेपछि बैंकहरूले स्थायी निक्षेप सुविधा प्रयोग गर्दै ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा राखिरहेका छन् । यस्तो अवस्थामा बैंकहरूले आफ्नो लागत घटाउन पनि निक्षेपको ब्याजदर घटाएका हुन् ।

साउनको तुलनामा भदौमा वाणिज्य बैंकहरूले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.२१ प्रतिशत बिन्दु र संस्थागततर्फ ०.२२ प्रतिशत बिन्दुले घटाएका छन् । साउनमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.७४ प्रतिशत रहेकोमा भदौमा घटेर ६.५३ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर साउनमा ५.४८ प्रतिशत रहेकोमा भदौमा घटेर ५.२६ प्रतिशतमा झरेको छ ।

भदौका लागि १३ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । जसमा सरकारी स्वामित्वको नेपाल बैंकले सबैभन्दा धेरै व्यक्तिगततर्फ १ प्रतिशत बिन्दु र संस्थागततर्फ ०.२५ प्रतिशत बिन्दुले घटाएको छ । त्यस्तै, प्रभु ०.९ प्रतितश बिन्दु, इन्भेष्टमेन्ट मेगा र हिमालयनले व्यक्तिगत तर्फ ०.५ प्रतिशत बिन्दुले घटाएका छन् ।

त्यस्तै, नेपाल एसबीआइ, एनएमबी, एनआइसी एशिया, राष्ट्रिय वाणिज्य, सानिमा, एभरेष्ट, कृषि विकास, सिद्धार्थ र सिटिजन्स बैंकले पनि निक्षेपको ब्याजदर घटाएका छन् ।

भदौमा प्राइम कमर्शियल बैंकले व्यक्तिगत तर्फ ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको छ । प्राइमले संस्थागततर्फ भने ०.७५ प्रतिशत बिन्दुले घटाएको छ ।

भदौमा माछापुच्छे, स्ट्याण्डर्ड चार्टर्ड, नबिल, कुमारी, लक्ष्मी सनराइज र ग्लोबल आइएमईले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

भदौमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर २.१६ प्रतिशत बिन्दुसम्म फरक भएको छ । एनएमबी र एनआइसीले सर्वाधिक ७.४१ प्रतिशत ब्याजदर दिने भएका छन् भने नेपालले सबैभन्दा कम ५.२५ प्रतिशत ब्याज दिने भएको छ । वाणिज्य बैंकहरूले ब्याजदर घटाएको यो लगातार एघारौं महिना हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता हुँदाहुँदै पनि गत असोजमा बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न ब्याजदर बढाएका थिए । तर, महँगो ब्याजमा उठाएको निक्षेप कर्जा लगानी गर्न नसकेपछि बैंकको उल्टो लागत बढेको थियो । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले बाध्य भएर ब्याजदर घटाउन थालेका हुन् ।

२०८० साउनदेखि नेपाल बैंकर्स संघले ब्याजदरमा रहेको भद्र सहमती तोडेको थियो । त्यस यता बैंकहरूलाई आफूखुसी स्वतन्त्र रुपमा निक्षेपको ब्याजदर तोक्दै आएका छन् । साउनअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।

१० ठूला बैंकको अडिट गर्न भारतीय कम्पनी छनोट Read Previous

१० ठूला बैंकको अडिट गर्न भारतीय कम्पनी छनोट

वीरगञ्जबाट ४५० थान इलेक्ट्रिक चुरोट बरामद Read Next

वीरगञ्जबाट ४५० थान इलेक्ट्रिक चुरोट बरामद