निर्जीवन बीमा कम्पनीको नाफा ५३% बढ्यो, नेपाल बन्यो धेरै कमाउने, कुनले कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । निर्जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा औसतमा ५२.८१ प्रतिशतले बढेको छ ।

गत असार मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीले कुल ७ अर्ब ४३ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा २ अर्ब करोड रुपैयाँले धेरै हो । अघिल्लो वर्ष निर्जीवन बीमा कम्पनीले कुल ४ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

गत वर्ष औसतमा एउटा कम्पनीले ५३ करोड ८ लाख रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो वर्ष औसत नाफा ३४ करोड ७३ रुपैयाँ थियो ।

पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हुँदै जाँदा बीमा कम्पनीहरुको व्यवसायमा सुधार आउँदा नाफामा उल्लेख्य सुधार आएको हो ।

समीक्षा अवधिमा बीमा कम्पनीहरूको खुद बीमा शुल्क संकलन र कर्जा तथा लगानी आयबाट हुने आम्दानी बढ्दा समग्रमा नाफा बढ्न पुगेको हो । साथै, गत वर्षको सुरुआति महिनामा निक्षेपको ब्याजदर बढेकाले बीमा कम्पनीहरूको नाफामा उच्च वृद्धि भएको हो ।

गत वर्षको असोजसम्म तरलता अभावका कारण बैंकहरूले निक्षेपको ब्याजदर १२ प्रतिशतसम्म पुर्याएका थिए । बीमा कम्पनीले प्रिमियमको ठूलो रकम निक्षेपमा राख्ने भएकाले ब्याजदर बढ्दा उनीहरूलाई फाइदा पुगेको हो ।

१२ कम्पनीको नाफा बढ्यो, २ वटाको मात्रै घट्यो

समीक्षा अवधिमा १४ मध्ये १२ निर्जीवन बीमा कम्पनीको नाफा बढेको छ भने दुई वटाको मात्र घटेको छ । अघिल्लो वर्षको तुलनामा राष्ट्रिय बीमा कम्पनीको नाफा सबैभन्दा धेरै १८.८ प्रतितश र नेको इन्स्योरेन्सको २.७४ प्रतिशतले घटेको हो ।

यस अवधिमा ४ कम्पनीको नाफा दोब्बरभन्दा धेरैले बढेको छ । जसमा आइजीआइ प्रुडेन्सियलको सर्वाधिक १५६.६७ प्रतिशतले बढेको छ । त्यस्तै, शिखरको १२६.८७ प्रतिशत, प्रभु ११८.१३ प्रतिशत र युनाइटेड अजोडको ११८.११ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मर्ज भएका अधिकांश बीमा कम्पनीको नाफा बढेको छ । बैंकहरूमा मर्जरको सिनर्जी नदेखिए पनि बीमा कम्पनीमा भने सिनर्जी देखिएको छ ।

धेरै कमाउने नेपाल, शिखरलाई ८ कम्पनीले उछिने

समीक्षा अवधिमा नेपाल इन्स्योरेन्स सबैभन्दा धेरै नाफा कमाउने निर्जीवन बीमा कम्पनी बनेको छ । अघिल्लो वर्षको तुलनामा ८७.७९ प्रतिशतले नाफा बढाउन सफल नेपालले ७९ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यसैगरी, साविकको सिद्धार्थ र प्रिमियर मर्ज भई बनेको सिद्धार्थ प्रिमियरले ६९ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । यसले अघिल्लो वर्षको तुलनामा खुद नाफा ८२.५२ प्रतिशतले बढाएको छ ।

गत वर्ष नेकोले ६८ करोड ५७ लाख, हिमालयन एभरेष्टले ६६ करोड ७९ लाख, राष्ट्रिय बीमा कम्पनीले ६२ करोड ७३ लाख, आइजीआई पु्रडेन्सियल ६१ करोड र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ६० करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यसैगरी, आरेन्टलले ५९ करोड ६१ लाख, शिखरले ५१ करोड ३० लाख, प्रभुले ४९ करोड ८ लाख, युनाइटेड अजोड ३८ करोड ५२ लाख, सानिमा जीआइसी ३३ करोड ७ लाख र नेशनलले २६ करोड ६७ करोड रुपैयाँ नाफा कमाएको छ ।

समीक्षा अवधिमा एनएलजी इन्स्योरेन्सले सबैभन्दा कम २५ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ ।

नेप्सेमा उच्च अंकको कमब्याक, यी १२ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्सेमा उच्च अंकको कमब्याक, यी १२ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नाडा अटो शोमा ५५ ब्राण्डले सहभागिता जनाउने, १३० स्टल Read Next

नाडा अटो शोमा ५५ ब्राण्डले सहभागिता जनाउने, १३० स्टल