काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सुधार आएको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २२.७७ प्रतिशतले बढेको छ ।
लघुवित्तले गत असार मसान्तसम्म ९४ करोड ९६ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा १७ करोड ६१ लाख रुपैयाँ धेरै हो । अघिल्लो आवमा लघुवित्तले ७७ करोड ३५ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा नाफामा सुधार आएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.४४ प्रतिशतले बढेर २ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन नाफा २०.३९ प्रतिशतले बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तले २ अर्ब ८३ करोड निक्षेप संकलन र २० अर्ब १४ करोड रुपैयाँ सापटी लिई कुल ३८ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
हाल ३ अर्ब ८० करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर प्रिमियममा १ करोड ८२ लाख, रिटेन्ड अर्निङमा १ अर्ब ७२ करोड ९७ लाख र जगेडा कोषमा ३ अर्ब ९१ करोड ६० लाख रुपैयाँ संचित छ ।
समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा १ अर्ब ७२ करोड ९७ लाख रुपैयाँ छ । यसबाट कम्पनीले ४५.४५ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७.४६ रुपैयाँ बढेर २४.९५ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २४८.८१ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा साढे ३ गुणाले बढेको छ । अघिल्लो वर्ष ०.६१ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा गत आवमा बढेर २.१८ प्रतिशत पुगेको छ ।