काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चुक्ता पूँजीको १० प्रतिशत सेयर सर्वसाधरणलाई बिक्री गर्ने भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार आफ्नो दोस्रो कार्यकालको ३ वर्षको उपलब्धी सार्वजनिक गर्दै आइपीओ निष्काशन प्रक्रिया अघि बढेको जानकारी दिएका हुन् ।
आइपीओबाट संकलन भएको रकम ठूला जलविद्युतमा लगानी गरिने उनले बताए । ‘आफ्नो पूँजीको तत्कालका लागि १० प्रतिशत सेयर आमसर्वसाधारणलाई निश्कासन गरी सङ्कलन गरिएको रकम ठूला जलविद्युत आयोजनाहरूमा लगानी गर्ने दिशामा प्राधिकरण अघि बढिसकेको छ,’ उनले भने ।
आइपीओ निष्काशनका लागि प्राधिकरणले रेटिङ समेत गराइसको छ । इक्रा नेपालले गरेको क्रेडिट रेटिङ्मा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको छ । यसले प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग बहन गर्न सक्ने क्षमतामा देखिएको घिसिङको भनाइ छ ।