विद्युत चुहावट आधा घट्यो, वार्षिक थप १२ अर्ब आम्दानी

"प्राधिकरण साढे ४७ अर्ब संचित नाफामा"

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावत नियन्त्रणमा ठूलो सफलता हात पारेको छ । प्राधिकरणले पछिल्लो ८ वर्षमा विद्युत चुहावट नियन्त्रण आधाले घटाउन सफल भएको हो ।

शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकालको ३ वर्षको उपलब्धी सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा विद्युत चुहावट १२.७३ प्रतिशतमा झार्न सफल भएको बताए । आव २०७२/७३ मा विद्युत चुहावट २५.७८ प्रतिशत रहेको उनले बताए ।

प्राधिकरणले चालेका कदमबाट चुहावट नियन्त्रणमा सफलता हात पारेको उनले बताए । ‘८ वर्ष अघिसम्म प्रणालीबाट २५.७८ प्रतिशत विद्युत चुहावट भइरहेको थियो । चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर गत वर्ष प्रणालीको चुहावट करिब १२.७३ प्रतिशतमा झारिएको छ,’ उनले भने ।

उनले विद्युत चुहावट नियन्त्रणबाट मात्रै प्राधिकरणले वार्षिक थप १२ अर्ब रुपयाँ आम्दानी गर्दै आएको उनले बताए । ‘चुहावट नियन्त्रणबाट मात्र प्राधिकरणले यस अवधिमा प्रतिवर्ष करिब १२ अर्ब रुपैयाँ थप आम्दानी गरेको छ,’ उनले भने ।

पछिल्लो ४ वर्षमा मात्रै मात्रै चुहावट नियन्त्रण झण्डै ५ प्रतिशत बिन्दुले घटेको प्राधिकरणको तथ्यांक छ । आव २०७७/७८ मा १७.३८ प्रतिशत रहेको विद्युत चुहावट आव २०७८/७०, २०७०/८० र २०८०/८१ मा क्रमशः १५.३८, १३.४६ र १२.७३ प्रतिशतमा झारिएको उनले बताए ।

घिसिङले आफूले प्राधिकरणको नेतृत्व गरेपछि घाटामा रहेको प्राधिकरण नाफामा गएको बताए । प्राधिकरणले उनको कार्याकालमा मात्रै ८२ अर्ब नाफा कमाएको घिसिङको भनाइ छ ।

आव २०७२/७३ मा प्राधिकरण ३४ अर्ब ६१ करोड रुपैयाँ संचिति नोक्सानीमा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ संचित नाफामा रहेको घिसिङले जानकारी दिए ।

गत आव २०८०/८१मा मात्रै प्राधिकरणले १३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको उनले बताए । पछिल्ला ३ वर्षमा प्राधिकरणको आम्दानी आम्दानी आव २०७८/७९, २०७९/८० र २०८०/८१मा क्रमशः रू. ८७ अर्ब १५ करोड, १ खर्ब ३ अर्ब र १ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ ।

८ वर्षको अवधिमा विद्युतको महसुल ३ पटक गरी करिब २५ प्रतिशत घटाइए पनि नाफामा वृद्धि नै भइरहेको उनले बताए । प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये करिब २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ मात्र
कायम गरी ऊर्जा निःशुल्क दिइएको छ ।

प्राधिकरणको सेवा अझ प्रभावकारी बनाउन, प्रणालीलाई स्वचालित बनाउन तथा भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न संस्थालाई डिजिटाईजेसन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको उनले बताए ।

सूचना प्रविधि मार्गचित्रलाई प्रभावकारी रुपमा कार्यान्वयमा ल्याई ‘डिजिटल एनईए’ अवधारणा अनुरुप प्राधिकरणका हरेक क्रियाकलापलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्न सुरु गरिएको उनको भनाइ छ ।

सबस्टेसन १९७ वटा पुगे

८ वर्षअघिसम्म विद्युत वितरणतर्फका वितरण सबस्टेसनहरू ८० वटा रहेकामा अहिले बढेर १९७ वटा पुगेको उनले बताए ।सबस्टेसन क्षमता ६४० एमभीए मात्र रहेकोमा अहिले २ हजार ५ सय एमभीए पुगेको छ ।

यसैगरी वितरण लाइनतर्फ आठ वर्षअघि १ लाख २१ हजार सर्किट किलोमिटर रहेकामा अहिले बढेर २ लाख ८ हजार सर्किट किलोमिटर पुगेको उनले जानकारी दिए ।

त्यस्तै, ४००, २२०, १३२ र ६६ केभी प्रसारण लाइन ६ हजार ५०० सर्किट किलोमिटर र सबस्टेसन क्षमता सबस्टेसन क्षमता बढेर १३ हजार एमभीए पुगेको । गत आव मात्र सबस्टेसन क्षमता ३ हजार एमभिए थपिएको ।

उनले काठमाडौं उपत्यका, भरतपुर र पोखरा महानगरपालिका क्षेत्रका विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न सुरु गरिएको बताए । तर, सम्बन्धित निकायहरूसँगको समन्वयको समस्या भएकाले केही ढिलाइ भएको उनको भनाइ छ ।

विद्युत उत्पादन ३१५७ मेगावाट

अहिले देशको कुल विद्युत उत्पादन क्षमता ३ हजार १५७ मेगावाट पुगेको उनले जानकारी दिए । यो प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका विद्युत आयोजनाहरूबाट उत्पादन हुने बिजुली हो ।

विगत ३ वर्षमा मात्र १७०६ मेगावाट प्रणालीमा थप भएको । जडित क्षमतामा सबैभन्दाबढी करिब ९५ प्रतिशत (२९९१ मेगावाट) योगदान जलविद्युतकै रहेको । थर्मल ऊर्जा ५३ मेगावाट, सौर्य ऊर्जा १०७ मेगावाट र वायोमास ऊर्जा ६ मेगावाट रहेको घिसिङले बताए ।

सन् २०२८/२९ सम्म नेपालको जडित क्षमता १० हजार मेगावाट पुग्ने उनले बताए ।

 

सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन Read Previous

सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

चीनले बनायो प्रतिघण्टा १ हजार किमी गुड्ने रेल, परीक्षण सफल Read Next

चीनले बनायो प्रतिघण्टा १ हजार किमी गुड्ने रेल, परीक्षण सफल