हवाई सुरक्षामा लापारबाही गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले हवाई सुरक्षामा लापारबाही गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकले हवाई सुरक्षा मापदण्ड कार्यान्वयनमा लापारबाही गर्नेलाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको हो ।

समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुण कुमार चौधरी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायतसँग छलफल गरेको थियो ।

समितिले १५ दिन भित्र आवश्यक छानबिन गरी कोही दोषी देखिए कारबाहीका लागि सिफारिस गर्न निर्देशन दिएको छ ।

त्यस्तै, समितिले हवाई क्षेत्रको नियामक र सेवा प्रदायक छुट्याउने सम्बन्धी विधेयक तत्काल संसदमा पेश गर्न निर्देशन दिएको छ । समितिले नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र संघीय संसदमा पेश गर्न निर्देशन दिएको हो ।

समितिले नेपालको हवाई उडान सुरक्षा सम्बन्धी छुट्टै नीति आवश्यक रहेको ठहर गर्दै उक्त नीति तर्जुमा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

हवाई दुर्घटनापिच्छे नै छानबिन समितिहरू बन्ने गरे पनि हवाई सुरक्षामा सुधार नआएको समितिको ठहर छ । साउनको दुई सातामा मात्रै दुई वटा हवाई दुर्घटना भएका छन् । गत साउन ९ गते त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । त्यस्तै, हिजो नुवाकोटको सूर्यचौरमा एयर डाइनेष्टिको हेलिकम्पटर दुर्घटना हुँदा ५ जनाको निधन भएको थियो ।

पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री पाण्डेले नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर रहेको बताए । उनले पछिल्लो समय नेपाली आकाशमा भएका हवाई दुर्घटनाले मन्त्रालयलाई गम्भीर बनाएको बताए ।

उनले समग्र उड्डयन क्षेत्रका समस्या समाधान गर्न कार्ययोजना निर्माणको तयारी गरिरहेको जानकारी दिए । उनले हवाई सुरक्षाका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका उपाय खोजिने बताए ।

चार उद्योगले जरिवानासहित तिरे डेडिकेटेड र ट्रंक लाइनको बक्यौता Read Previous

चार उद्योगले जरिवानासहित तिरे डेडिकेटेड र ट्रंक लाइनको बक्यौता

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटलमा १५ प्रतिशत छुट Read Next

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटलमा १५ प्रतिशत छुट