काठमाडौं । काठमाडौं उपत्यकामा जारको पानी बिक्री गर्दा ४७ रुपैयाँभन्दा धेरै लिन नपाइने भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकामा बिक्री गरिने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान ४७ रुपैयाँ कायम गर्न भनेको हो ।
उपत्यकामा पानी उत्पादक कम्पनीहरूले उस्तै प्रकारका गुणस्तर, तापतौल र परिमाणको पानीमा फरक-फरक एमआरपी लगाएर बिक्री-वितरण भएको पाइएको भन्दै विभागले एउटै मूल्य कायम गर्न निर्देशन दिएको हो ।
पानी उत्पादक कम्पनीले होटल र रेस्टुरेन्ट तथा व्यवसायी फर्मसँग सम्झौता गरेर धेरै एमआरपी राख्ने गरेको पाइएको विभागले जनाएको छ ।
अबदेखि २० लिटर जारको अधिकतम मूल्य ४७ रुपैयाँ र १ लिटरको पानीको बोतलको मूल्य १६ रुपैयाँ निर्धारण गरिएको विभागले जानकारी गराएको छ ।
तोकिएकोभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएमा कारबाही गर्ने विभागले चेतावनी दिएको छ।
