गण्डकी सरकारले दूध उत्पादक किसानलाई दियो ३ करोड अनुदान

कास्की । गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई आर्थिक वर्ष २०८०/८१ मा दूध उत्पादनका आधारमा रु ३ करोड ९ लाख ६ हजार अनुदान प्रदान गरेको छ ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयमातहतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहमा उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

सरकारले ६४ सहकारी संस्थाबाट १३ हजार ९६१ मेट्रिक टन दूध उत्पादन भएका आधारमा प्रतिलिटरमा २.५० रुपैयाँ अनुदान दिएको हो ।

सहकारी संस्थाबाट दूध बिक्री गर्ने किसानले मात्र यस्तो सहयोग सरकारबाट पाउने पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. प्रेरणा भट्टराईले बताए।

सरकारले दूध उत्पादन प्रोत्साहन सहयोग कार्यक्रममा अनुदान वृद्धि गर्ने योजनाअनुसार गत वर्ष रु ६ करोड ५५ लाख बजेट विनियोजन गरेको थियो । ‘अनुदान रकम दोब्बर वृद्धि गर्नेगरी बजेट विनियोजन भएको थियो, तर वृद्धिको कार्यविधि र राजपत्रमा प्रकाशनमा ढिलाइ हुँदा गत वर्ष कार्यान्वयन हुन सकेन,’ महानिर्देशक भट्टराईले भने ।

सरकारले उत्पादनका आधारमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । यसबाट दूध उत्पादन वृद्धि गर्न सहयोग पुगेको छ । दूधको राष्ट्रिय उपलब्धता प्रतिव्यक्ति प्रतिवर्ष ८८ लिटर रहेकामा गण्डकीको उपलब्धता एक सय आठ लिटर रहेको छ ।

हवाई सुरक्षाका निम्ति आजैदेखि सुधारका प्रयास थाल्ने पर्यटनमन्त्रीको प्रतिबद्धता Read Previous

हवाई सुरक्षाका निम्ति आजैदेखि सुधारका प्रयास थाल्ने पर्यटनमन्त्रीको प्रतिबद्धता

सर्वोत्तम सिमेन्टको लकइन पिरियड भदौ २५ गते सकिँदै Read Next

सर्वोत्तम सिमेन्टको लकइन पिरियड भदौ २५ गते सकिँदै