फाइनान्सको नाफा ४५५% बढ्यो, तर एउटाले मात्र ५% बढी लाभांश दिनसक्ने

काठमाडौं । फाइनान्स कम्पनीहरूको खुद नाफामा उल्लेख्य सुधार आएको छ । अघिल्लो आव २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा फाइनान्स कम्पनीहरूको नाफा ४५४.९० प्रतिशतले बढेको हो ।

नेप्सेमा सूचीकृत १५ मध्ये हालसम्म १४ कम्पनीले गत आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । गत असार मसान्तसम्म १४ फाइनान्स कम्पनीले कुल ४४ करोड ६४ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

यो अघिल्लो वर्षको तुलनामा ३६ करोड ५९ लाख रुपैयाँ धेरै हो । अघिल्लो आव २०७९/८० मा फाइनान्सहरूले जम्मा ८ करोड ४ लाख ५५ हजार रुपैयाँ मात्र नाफा कमाएका छन् ।

गत वर्ष फाइनान्स कम्पनीहरूको खुद ब्याज आम्दानी घटे पनि इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा उल्लेख् सुधार देखिएको हो । अर्थतन्त्रमा आएको शिथिलताका कारण व्यवसाय विस्तार गर्न नसक्दा फाइनान्स कम्पनीहरूको खुल ब्याज आम्दानी ७.१२ प्रतिशतले घटेको छ । अघिल्लो आवमा कुल ३ अर्ब ९४ करोड खुद ब्याज आम्दानी गरेका फाइनान्सले गत वर्ष ३ अर्ब ६६ करोड रुपैयाँमा सीमित भएका हुन् ।

गत आवमा १४ मध्ये ६ वटा फाइनान्सको नाफामा सुधार आएको छ भने ८ वटाको झन् घटेको छ । गत वर्ष १० वटा फाइनान्स नाफामा छन् भने ४ वटा घाटामा छन् ।

कुनले कति कमाए नाफा ?

गत वर्ष जम्मा ४ वटा फाइनान्सले मात्र १० करोड रुपैयाँ माथि नाफा कमाउन सफल भएका छन् । जसमा मञ्जुश्री फाइनान्सले सबैभन्दा धेरै २६ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा मञ्जुश्रीले नाफा ७.६२ प्रतिशतले बढाउन सफल भएको हो ।

त्यस्तै, गुडविल फाइनान्सले १४ करोड ८४ लाख, आइसीएफसीले ११ करोड ८६ लाख र गोर्खा फाइनानसले १० करोड ८९ लाख रुपैयाँ नाफा कमाएका छन् ।

श्री इन्भेष्टमेन्टले ६ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ भने अरुको ३ करोडभन्दा कम छ । जसमा रिलायन्स २ करोड ८९ लाख, मल्टीपर्पस २ करोड ३ लाख, नेपाल १ करोड ८१ लाख, गुह्येश्वरी मर्चेन्ट १ करोड ५४ लाख र बेस्ट फाइनान्सले ४ लाख ७७ रुपैयाँ नाफा कमाएको छ ।

गत आवमा ४ फाइनान्स कम्पनी भने घाटामा छन् । जसमा जानकी फाइनान्स सबैभन्दा धेरै १३ करोड ७१ लाख रुपैयाँ नोक्सानीमा छ । त्यस्तै, पोखरा फाइनान्स १० करोड ६४ लाख, सेन्ट्रल ६ करोड ३८ लाख र प्रोग्रेसिभ फाइनानस ३ करोड ८० लाख रुपैयाँ घाटामा छन् ।

४ कम्पनीले मात्रै लाभांश दिन सक्ने

गत वर्ष फाइनान्सहरूको नाफा साढे ५ गुणाले बढे पनि अधिकांशको रिटेन्ड अर्निङ ऋणात्मक छ । १४ मध्ये ४ कम्पनीको मात्रै रिटेन्ड अर्निङ धनात्मक छ भने १० वटाको ऋणात्मक छ ।

गत आवको नाफाबाट जम्मा ४ वटा फाइनान्सले मात्र सेयरधनीलाई लाभांश दिनसक्ने अवस्था छ । जसमा मञ्जुश्रीको वितरणयोग्य नाफा सबैभन्दा धेरै १० करोड ७६ लाख रुपैयाँ छ । यसबाट कम्पनीले ७.७३ प्रतिशत लाभांश बाँड्न सक्छ ।

त्यस्तै, आइसीएफसीको वितरण योग्य नाफा ४ करोड ७२ लाख, गुहेश्वरी फाइनान्सको २ करोड ८८ लाख र श्री इन्भेष्टमेन्टको २ करोड ३८ लाख रुपैयाँ रहेको छ । यी फाइनान्सले सेयरधनीलाई ५ प्रतिशत पनि लाभांश दिन सक्दैनन् ।

आइसीएफसीको ३.९८ प्रतिशत, गुह्येश्वरीको २.८४ प्रतिशत र श्री इन्भेष्टमेन्टको लाभांश क्षमता २.४२ प्रतिशत रहेको छ ।

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला Read Next

तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला