कैलाली । पछिल्लो समय कैलाली दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा उन्नत नश्लका गाई र भैँसीको व्यावसायिक पालन हुन थालेपछि बर्सेनि दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको हो ।
जिल्लामा व्यावसायिक फार्म दर्ता गरी गाई र भैँसीपालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेपछि यहाँबाट दूध अन्य जिल्लामा निर्यात हुन थालेको छ ।
जिल्लामा उत्पादन भएको दूध जिल्लाबाहिर निर्यात हुने गरेको बताउँदै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी कविराज कठायतले भने, ‘पछिल्लो केही वर्षयता व्यावसायिक रूपमा गाईभैँसीपालन गर्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएपछि बर्सेनि दूध उत्पादनमा वृद्धि हुँदै आएको छ ।’
कोरानाकालपछि विदेशमा रोजगारी गुमाएर स्वदेश फर्केकाहरूलाई प्रदेश सरकारले स्वदेशमै कृषि उद्यमी बन्न कार्यक्रम ल्याएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीको तथ्याङ्कानुसार कैलालीमा आर्थिक वर्ष २०७८/७९ मा ९६ मेट्रिक टन दूध उत्पादन भएकामा आव २०७९/८० मा १०६ मेट्रिक टन दूध उत्पादन भएको थियो । आव २०८०/८१ मा १६८ मेट्रिक टन दूध उत्पादन भएको विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
पशुसेवा कार्यालयको गत वर्षको तथ्याङ्कानुसार २२ हजार १६४ मेट्रिक टन गाईको र ३४ हजार ५९२ मेट्रिक टन भैँसीको गरी वार्षिक ५६ हजार ५५६ मेट्रिक टन दूध उत्पादन भएको छ । दूधमा औसत राष्ट्रिय आवश्यकता ५७ भएको र कैलालीमा ७३.१६ उपलब्धता भएकाले कैलाली दूध उत्पादनमा आत्मनिर्भर बनेको सो कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्लाबाट दैनिक दुई हजारदेखि २ हजार ५०० लिटर दूध जिल्लाबाहिर निर्यात हुने गरेको दुग्ध विकास आयोजना अत्तरियाले जनाएको छ ।
जिल्लामा गाई र भैंसीका गरी ५२ वटा फार्म पशु कार्यालयमा दर्ता भएका छन् । ती फार्ममा १५६ जनाले प्रत्यक्ष रोजगारी पाएको पशु सेवा कार्यालयका पुष्प भारतीले बताए । गाईभैँसी फार्मले वार्षिक रूपमा रु चार करोड ८९ लाख २१ हजार आम्दानी गर्दै आएको उहाँले बताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा १४ दुग्ध सहकारी, ४४ निजी डेरी र एउटा खप्तड इन्डस्ट्रिज प्रालि सञ्चालनमा रहेका छन् । दुग्ध सहकारी, निजी डेरी र इन्डस्ट्रिजले वार्षिक रु १८ करोड ८४ लाख १० हजारको कारोबार गर्दै आएको बताइएको छ । कैलाली–कञ्चनपुरबाट सङ्कलित बढी भएको दूध नेपालगञ्ज निर्यात हुँदै आएको छ । बजारमा दूध तथा दुग्ध पदार्थको माग पनि बढ्दै गएको डेरी व्यवसायी बताउँछन् ।
पहिलो र दोस्रो लहरको र कुखुरापालक किसानको सङ्ख्या बढ्दै गएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय डोटीका योजना अधिकृत पुस्करराज नाथले बताए। ‘सुदूरपश्चिम प्रदेश मासु, अण्डा र दूधमा आत्मनिर्भर बन्दै गएको देखिन्छ । कैलालीमा अण्डा उत्पादनका लागि ठूलो लगानीमा ह्याचरी उद्योग सञ्चालनमा आएकाले अण्डा बाहिरबाट आयात गर्नुपरेको छैन,’ उनले भने ।
ह्याचरी उद्योगबाट अण्डा उत्पादन हुन थालेपछि कैलाली र कञ्चनपुर अण्डामा आत्मनिर्भर बनेकाले भारतबाट अण्डा आयात पूर्ण रूपमा बन्द भएको निर्देशनालयले जनाएको छ । कञ्चनपुरमा झण्डै २५ हजार मेट्रिक टन अण्डा खपत हुने गरेकामा २० हजार मेट्रिक टन अण्डा जिल्लामा उत्पादन भइरहेको छ । कैलाली र कञ्चनपुरले भारतबाट अण्डा आयात गर्नुपर्ने अवस्था नरहेको व्यवसायीले बताएका छन् ।
यस्तै कञ्चनपुरबाट एक सय ४३ मेट्रिकटन मासु सुदूरपश्चिमका पहाडी जिल्लामा निर्यात हुने गरेको छ । जिल्लाबाट २३ हजार ६५५ मेट्रिक टन दूध कैलाली र भारतमा निर्यात हुने गरेको छ । कैलाली र कञ्चनपुर दूध, अण्डा र मासुमा मात्र नभएर माछामासमेत आत्मनिर्भर नजिक पुगेको निर्देशनालयको दाबी छ । प्रदेशभित्र वार्षिक ३५ देखि ४० हेक्टर क्षेत्रफल माछा व्यवसायका लागि विस्तार हुँदै आएको छ ।
एक जिल्लामा उत्पादन हुने अण्डा, मासु तथा दूध अर्को जिल्लामा निर्यात हुँदै आएपछि आपूर्ति व्यवस्था सहज बन्दै गएको छ । पछिल्ला केही वर्षयता चाडपर्व दसैँतिहारका बेला सुदूरपश्चिमबाट निरन्तर रूपमा खसीबोका पोखरा र काठमाडौँ निर्यात हुँदै आएको निर्देशनालयले जनाएको छ ।रासस