नेपालबाट बंगलादेश सामान लिन गएका कन्टेनर आन्दोलनले उतै रोकिए

भद्रपुर । बंगलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका छन् । बंगलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल बंगलादेश व्यापारमा समेत परेको हो ।

गत असारको अन्तिमबाट ठप्प भएको बंगलादेशसँगको व्यापार केही दिनदेखि सामान्य अवस्थामा फर्किन थालेको थियो । फेरि आजदेखि तीन दिनका लागि बन्द भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल, भारत, भूटानको त्रिदेशिय नाका फुलबारी-बङ्लाबन्धमा केही कन्टेनर रोकिएका छन् ।

त्यस्तै, बंगलादेशबाट नेपालका लागि लोड भएका कन्टेनर पनि बंगलादेशतर्फ नै रोकिएका छन् । ‘बंगलादेशमा फेरी आन्दोलनले उग्र रुप लिएकाले आयात निर्यातमा प्रभाव परेको छ, स्थिति कहिलेसम्म सामान्य हुने हो भन्न सकिने अवस्था छैन,’ उनले भने ।

पारवहन कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८१/८२ मा ११ दिनमा रु १ करोड ३५ लाख ८९ हजार ५६३ मूल्य बराबरको सामग्री निर्यात र रु २० करोड ६५ लाख ६२ हजार ७३को आयात भएको छ ।

मेची भन्सार कार्यालय काकरभिट्टाको तथ्याङ्क अनुसार दाल, जडिबुटि, मोलासिस, खाद्य पदार्थ, पशु आहाराको कच्चा पदार्थ, खयर कत्था, रङ्गरोगनका पदार्थ बङ्लादेश निर्यात हुन्छ । यसैगरी जुट, भटमासको पिना, एलोपेथिक औषधि, लिड एसिड ब्याट्री, कपडा, फलफुलको जुस, ग्लास सिट, बिस्कुट तथा चकलेटलगायतका सामग्री आयात हुने गरेका छन् ।

आन्दोलन चर्किँदै गएपछि बंगलादेशको विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्किसकेका छन् ।रासस

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाद्वारा राजीनामा, देश छाडिन् Read Previous

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाद्वारा राजीनामा, देश छाडिन्

सेयर बजारमा 'इन्साइडर ट्रेडिङ' भइरहेको पूर्वअर्थमन्त्रीको आशंका Read Next

सेयर बजारमा 'इन्साइडर ट्रेडिङ' भइरहेको पूर्वअर्थमन्त्रीको आशंका