नारायणगढ-बुटवल सडकको ६ वर्षमा आधा मात्र काम पूरा, तेस्रो पटक म्याद थप

काठमाडौं । नारायणगढ-बुटवल सडक विस्थार थालिएको ६ वर्षमा आधा मात्रै काम पूरा भएको छ । २०७५ माघदेखि विस्तार थालिएको उक्त सडकको हालसम्म ५२ प्रतिशत मात्र काम पूरा भएको हो ।

ठेकेदारले अनेक बाहाना बनाउँदै काममा ढिलासुस्ती गर्दा सडक विस्तारले गति लिन नसकेको हो । ११४ किलोमिटर लामो यो सडक दुई खण्ड (गैँडाकोट-दाउन्ने र दाउन्ने-बुटवल)मा विभाजन गरी निर्माण भइरहेको छ ।

दुईपटक थपिएको म्यादभित्र आयोजनाको काम सम्पन्न नभएपछि सरकारले फेरि तेस्रो पटक म्याद थपेको छ । सरकारले यही साउन १० गते पुनः १ वर्ष म्याद थपिएको छ ।

छोटो अवधिका लागि म्याद थप भए पनि निर्माण प्रगति हेर्दा थप म्यादमा पनि कार्यसम्पन्न हुनेमा आशङ्का गरिएको छ । नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इञ्जिनियर शिव खनालले यो अन्तिम पटकका लागि म्याद थप भएकाले निर्माण पक्षले समयमै कामसक्ने अपेक्षा लिएको बताए।

‘सरकारले यो पटकको म्यादलाई अन्तिम पटक भनेकाले ठेकेदार कम्पनीले यसलाई अन्तिम अवसर ठानेर काम गर्ने छ भन्ने हामीले ठानेका छौँ,’ इञ्जिनियर खनालले भने ।

अघिल्लो वर्ष म्याद थप हुँदा सडकको भौतिक प्रगति ४२ प्रतिशत थियो । सडकको भौतिक प्रगति अहिले पूर्वी खण्डमा ५२ प्रतिशत रहेको इञ्जिनियर खनालले जानकारी दिए ।

हालसम्म के-के बन्यो ?

कुल ११३ किमी सडक मध्ये ७० किमी चार लेन, २९ किमी ४ लेनसहित दुवैतर्फ ६÷६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमी ३ लेनमा कालोपत्र गर्ने गरी ठेक्का लगाइएको छ । जसमा हालसम्म २६.५ किमी चार लेन र २२ किमी दुई लेन सडक कालोपत्र सम्पन्न भएको आयोजनाले जनाएको छ ।

त्यस्तै, ६४ पुल निर्माण गर्नुपर्नेमा हालसम्म ४२ पुल निर्माण सम्पन्न भएको छ भने ४६२ कल्भर्टलगायत संरचना निर्माण गनुपर्नेमा ३८० कल्भर्ट निर्माण गरिएको छ ।

विसं २०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्नेगरी २०७५ साल चैतमा यस सडक विस्तारको शिलान्यास गरिएको थियो । सडक विस्तारको काम समयमै सम्पन्न नहुँदा यो सडकखण्डको यात्रा निकै कष्टकर हुने गरेको छ । घाम लाग्दा धुलो र वर्षामा हिलोले गर्दा यो सडकखण्डको यात्रा अति कष्टकर हुने गरेको हो ।

कात्तिक १५ देखि मात्रै काम सुरू हुने

हाल यस सडकमा वर्षाका कारण निर्माण रोकिएको छ । उक्त काम अब आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ ।

नेपालमा मनसुन सुरू भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरू गर्नेगरी कार्यतालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो ।

गैँडाकोटदेखि दाउन्ने खण्डमा अहिले सामान्य सडक मर्मत कार्यबाहेक अन्य काम ठप्प रहेको छ । बर्खाका कारण यो समयमा सडक कालोपत्र र विस्तारको काम नभए पनि पर्खाल निर्माण र मर्मतको काम भइरहेको इञ्जिनियर खनालले बताए।

‘सडक विस्तारको काम पूर्ण रूपमा बन्द छ भन्न त मिल्दैन, तर यो समयमा सडक कालोपत्रबाहेकको सामान्य पर्खाल निर्माण र खाल्डाखुल्डी मर्मतका लागि पूर्वी खण्डमा ६४ जना कामदार खटिएका छन्,’ उनले भने ।

सडक कालोपत्र र विस्तारको काम कात्तिक १५ देखि मात्र सञ्चालन गर्नेगरी समय तालिका निर्माण कम्पनीले सरकारी पक्षलाई उपलब्ध गराएको छ । यो बीचमा मर्मत र पर्खाल निर्माण गर्नेगरी कार्यतालिका पेस गरेको भए पनि सोअनुसारको काम पनि अहिले सडकमा भएको देखिएको छैन ।

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन प्रालिले सडक विस्तारको काम मनसुन सुरू भएदेखि नै रोकेको थियो ।

निर्माण कम्पनीले सरकारी पक्षलाई दिएको जानकारी अनुसार पूर्वी खण्डमा कामदार र कर्मचारीसहित १९८ जना खटिएका छन् । वर्षाले सडकमा पहिरो जाने र अवरुद्ध हुनसक्ने स्थानमा प्राथमिकता दिएर कामदार खटाएको निर्माण कम्पनीले जनाएको छ ।

घरका झ्यालमा बिजुलीको तार पुग्ने भएपछि साँगा-धुलिखेल सडक विस्तारमा कठिनाइ Read Previous

घरका झ्यालमा बिजुलीको तार पुग्ने भएपछि साँगा-धुलिखेल सडक विस्तारमा कठिनाइ

झापाको दुर्गापुरमा प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा Read Next

झापाको दुर्गापुरमा प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा