काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा सेयर मूल्य उचालिएको नेपाल फाइनान्सको वित्तीय अवस्था भने कमजोर रहेको छ ।
पछिल्लो ११ दिनमै कम्पनीको सेयर मूल्य ११६ प्रतिशत अर्थात् प्रतिकित्ता ११५४ रुपैयाँले बढेर २१५४ रुपैयाँ पुगेको छ । तर, आइतबार सार्वजनिक फाइनान्सको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय अवस्था भने कमजोर देखिएको छ ।
समीक्षा अवधिमा फाइनान्सको निक्षेप- कर्जा लगानी बाहेक अरु अधिकांश वित्तीय सूचक खस्किएका छन् । सार्वजनिक विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा फाइनान्सको नाफा १०.०१ प्रतिशतले घटेर १ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ । यो अघिल्लो वर्षकोभन्दा २० लाख रुपैयाँ कम हो । फाइनान्सले अघिल्लो आवमा २ करोड १ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढे पनि इम्पेयरमेन्ट चार्ज बढ्दा खुद नाफा घटेको हो ।
समीक्षा अवधिमा फाइनान्सकोे खुद ब्याज आम्दानी १९.८६ प्रतिशतले बढेर ११ करोड ७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, फाइनान्सकोे संचालन नाफा १०.०३ प्रतिशतले बढेर २ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
फाइनान्सकोे खराब कर्जा असुली नहुँदा जोखिम व्यवस्थापनका लागि ६२ लाख ५८ हजार रुपैयाँ प्रोभिजन गरेको छ । गत असार मसान्तसम्ममा फाइनान्सले २ अर्ब ५५ करोड निक्षेप संकलन गरी २ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा फाइनान्सको निक्षेप ४१.४४ प्रतिशत र कर्जा ५४.९५ प्रतिशतले बढेको छ ।
हाल ७२ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सकोे सेयर प्रिमियममा ५ करोड १० लाख र जगेडा कोषमा ४३ करोड १० लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा फाइनान्सकोे वितरण योग्य मुनाफा २० करोड ८२ लाख रुपैयाँ ऋणात्मक छ ।
नाफासँगै फाइनान्सकोे प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । समीक्षा अवधिमा फाइनान्सकोे प्रतिसेयर आम्दानी २.७७ रुपैयाँबाट घटेर २.४८ रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा फाइनान्सको खराब कर्जामा भने सुधार आएको छ । अघिल्लो वर्ष १२.१६ प्रतिशत रहेको फाइनान्सको खराब कर्जा गत वर्ष ९.११ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिमा फाइनान्सकोे प्रतिसेयर नेटवर्थ १३७.५२ रुपैयाँ, बेसरेट १२.४४ प्रतिशत र कस्ट अफ फण्ड ८.०३ प्रतिशत रहेको छ ।
फाइनान्सको रिटेन्ड अर्निङ झण्डै २१ करोड ऋणात्मक रहेकाले लगानीकर्ताले लाभांश पाउने देखिँदैन । खराब कर्जा पनि राष्ट्र बैंकले तोकेको सीमाभन्दा निकै माथि छ । तर, सेयर मूल्यमा भने अस्वभाविक चलखेल भइरहेको देखिन्छ । यस्तोमा लगानीकर्ता स्वयम् सचेत हुन जरुरी छ ।