सस्तो ब्याजको फाइदा उठाउँदै सरकार, नयाँ आवको सुरूमै ऋण लिँदै

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्ष २०८१/८२ को सुरुदेखि नै सार्वजनिक ऋण उठाउन थालेको छ । ब्याजदर सस्तिएको मौका छोपी सरकारले नयाँ आवको सुरुमै आन्तरिक ऋण उठान थालेको हो ।

आगामी दिनमा अर्थतन्त्र चलायमान हुँदै जाँदा तरलता कम भई ब्याजदर बढ्न सक्ने सम्भावना देखिन्छ । त्यसैले अहिले अधिक तरलता र सस्तो ब्याज भएको बेला सरकारले धमाधम ऋण उठान थालेको हो ।

नेपाल राष्ट्र बैंकले चालु आवमा निजी क्षेत्रतर्फ १२.५ प्रतिशतको कर्जा विस्तारको लक्ष्य राखेको छ । सो अनुसार झण्डै साढे ६ खर्ब कर्जा लगानी गर्नुपर्छ । सरकार र नेपाल राष्ट्र बैंकले गरेका नीतिगत लचकताले आगामी महिनाहरुमा क्रमशः अर्थतन्त्र चलायमान हुने र कर्जाको माग बढ्ने अपेक्षा छ । कर्जाको माग बढेमा बैंकिङ प्रणालीमा तरलता कम भई ब्याज महँगिन थाल्छ । त्यसैले अहिले ब्याजदर सस्तो भएको बेलामा सरकारले ऋण उठाउन थालेको हो ।यद्यपि, सरकारले लिने ऋणको ब्याज सर्वसाधरणको जस्तो महँगो हुँदैन

दुई वर्ष अघि १६/१७ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर अहिले एकल अंकमा झरिसकेको छ । गत कात्तिकदेखि ब्याजदर लगातार घटुदो क्रममा छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकदर र नीतिगत दर घटाएकाले आगामी दिनमा झनै घट्ने देखिन्छ ।

साउन लागेपछि मात्रै सरकारले आज तेस्रो पटक ऋण उठाउँदै छ । यसअघि दुईपटकमा ३१ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गरेको सार्वजानिक ऋण व्यवस्थापन कार्यालयले बुधबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दैछ ।

कार्यालयले ११ वर्ष अवधिको विकास ऋणपत्र जारी गर्न लागेको हो । कार्यालयले बोलकबोलको माध्यमबाट, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र साधारण नागरिकले समेत खरिद गर्न पाउने गरी ऋणपत्र बिक्री गर्न लागेको हो।

ऋणपत्रको ब्याजदर भने बोलकबोलबाट तय हुने छ । ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने छ । यो ऋणपत्र धितो राखी बैंकबाट कर्जा समेत लिन सकिन्छ।

ऋणपत्र खरिद गर्न चाहनेले बुधबार ३ बजेसम्ममा आवेदन दिनुपर्नेछ। ऋणपत्रको बाँडफाँड भने बिहीबार गरिने छ ।

सरकारले चालु आवमा ५ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँ सार्वजनिक ऋण लिने लक्ष्य राखेको छ । जसमा २ खर्ब १७ अर्ब ६७ करोड वैदेशिक र ३ खर्ब ३० अर्ब आन्तरिक ऋण ऋण उठाउने लक्ष्य छ ।

बजेट मार्फत घोषणा गरिएको आन्तरिक स्रोत जुटाउन सार्वजानिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋण पत्र, ट्रेजरी बिल, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने गर्छ ।

बैंकिङ प्रणालीबाट एकैदिन ४० अर्ब तान्दै राष्ट्र बैंक Read Previous

बैंकिङ प्रणालीबाट एकैदिन ४० अर्ब तान्दै राष्ट्र बैंक

बाढीले पुलमा क्षति पुर्‍याउँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध Read Next

बाढीले पुलमा क्षति पुर्‍याउँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध